हुमाकान्त पोखरेल
तम्घास (गुल्मी), असोज २२ गते । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोत घरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६, रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।
पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् । सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ ।
सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर विस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ । कम्तिमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतीक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
कोतमा चौथो नाचको रूपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुई जना प्रतिद्वन्द्वीहरू ढाल र तरबार लिई बाजाको तालमा नाच्ने गर्छन । अनि झुक्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्दछन् । तर अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथी–साथीबिच पनि द्वन्द्व, इर्ष्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताउनुभयो ।
दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो । अन्य ठाउँमा वीरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एक पटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्त्व रहेको छ । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताउनुभयो । “धेरै सुनेको थिए, तर हेरेकी थिइन”, उहाँले भन्नुभयो, “अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदोरहेछ ।” आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उहाँले बताउनुभयो ।
मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताउनुभयो । विगतमा एक पटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उहाँले बताउनुभयो । “वर्षमा एक पटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ”, उहाँले भन्नुभयो ।
उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाँचिएको छ । धुर्कोट दरबार अगाडिको पटागिङ्नीमा गोलो लाइन बनाएर दुई, दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लट्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाँचिएको छ । किम्बदन्ती अनुसार विसं १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन् ।
धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झण्डै पाँच करोडभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ । धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, सङ्ग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । “सङ्घ, प्रदेश र पालिकाको गरी पाँच करोडभन्दा बढीको काम गरेका छाैँ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।” रासस