• २२ असोज २०८२, बुधबार

चार सहुलियत पसलबाट दसैँमा २८९ क्विन्टल चामल बिक्री

blog

गुल्मीको मदाने गाउँपालिका-२ बाट खाद्यान्न खरिद गर्दै स्थानीय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज २२ गते । गुल्मीका सहरदेखि दुर्गम बस्तीसम्म चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन भएका छन् । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । 

मुख्य चाड दसैँ, तिहार र छठलाई केन्द्रमा राखेर भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म खाद्यका तम्घास, बलेटक्सार, बाँझकटेरी र अर्खबाङ्ग बिक्री केन्द्र मार्फत सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो । खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका सूचना अधिकारी राजाबाबु साहका अनुसार पसलबाट चार प्रकारका चामल र चिनी बिक्री हुनेछ । खाद्यान्नमा प्रति प्रतिकिलो पाँच रुपियाँ छुट छ । तेल र दालको माग भइरहेको छ । जिल्लाका लागि एक हजार क्विन्टल चामल र चिनी प्राप्त भएको साहले बताउनुभयो।

साहले दिएको विवरणमा दसैँमा मात्रै सहुलियत मुल्य पसल २८९.५ क्विन्टल चामल बिक्री भएको छ । सबैभन्दा बढी बाँझकटेरी डिपोबाट ९५ क्विन्टल चाम बिक्री भएको छ । त्यस्तै बलेटक्सार डिपोबाट ८९.५० क्विन्टल, अर्खाबाङ्ग डिपोबाट ६४ र तम्घास डिपोबाट ४१ क्विन्टल चामल बिक्री भएको छ । जिल्लाका बिक्री केन्द्रहरूबाट गुल्मी र अर्घाखाँचीका कारागार, सहकारी, डिलर र सर्वसाधारणहरूले खाद्यान्न खरिद गर्ने गरेका छन् । 

गुल्मीमा २०६४ सालमा विस्थापित तत्कालिन खाद्य संस्थान डेढ दशकपछि २०८० मङ्सिरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रूपमा पुर्नस्थापना भएको छ । तत्कालिन समयमा तम्घासमा खाद्य संस्थानको प्रमुख कार्यालय र मजुवा तथा चौरासीमा डिपोहरू सञ्चालनमा थिए । निजी स्तरमा पसलहरू सञ्चालन हुन थालेपछि विस्थापित कम्पनी फेरि नागरिकहरूको बिचमा आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाको विवरण अनुसार गत वर्ष चिनी र चामल दुई हजार ३३७.१० क्विन्टल अर्थात् एक करोड ७१ लाख सात हजार ३४५ रुपियाँ मूल्य बराबरको बिक्री गरिएको थियो । जसमध्ये तम्घास शाखा कार्यालयले ५९ लाख ५७ हजार ५२६ रुपियाँ बराबरको ८३९.२५ क्विन्टल चामल र चिनी बिक्री गरेको खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका लेखापाल समेत रहनुभएका राजाबाबु साहले जानकारी दिनुभयो । 

त्यस्तै बलेटक्सार बिक्री केन्द्रले ४५ लाख चार हजार १२५ रुपियाँ बराबरको ५५९.५० क्विन्टल खाद्यान्न बिक्री गर्‍यो । त्यस्तै अर्खबाङ्ग बिक्री केन्द्रले ३० लाख २९ हजार २२५ रुपियाँको ४२६ दशमलव ६० क्विन्टल चामल र चिनी बिक्री गरेको थियो । बाँझकटेरी बिक्री केन्द्रले ३६ लाख १६ हजार ४७० रुपियाँको ५११.७५ क्विन्टल खाद्यान्न बिक्री गरेको थियो । विकट गाउँहरूमा चाडपर्वमा मात्रै नभएर १२ महिना खाद्यले गुणस्तरिय खाद्यान्न उपलब्ध गराएकाले स्थानीय खुसी रहेको मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले बताउनुभयो । 

खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुने नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मीको शाखा प्रमुख लक्ष्मी भण्डारीले बताउनुभयो ।