• २२ असोज २०८२, बुधबार

आधुनिक भवन निर्माण समयमै सकिने अनुमान

blog

भवन निर्माणको स्थलगत अवलोकन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

बुटवल समाचारदाता 

बुटवल, असोज २२ गते । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको १२ तले आधुनिक भवन निर्माणको काम २० महिनामा २९ प्रतिशत सम्पन्न भएको छ । निर्माणको काम यही रफ्तारमा अघि बढे निर्धारित मितिअगावै सम्पन्न हुने अस्पतालले जनाएको छ । १९६७ सालमा स्थापना भएको यो अस्पतालको आधुनिक भवन निर्माण २०८० माघ १८ देखि सुरु भएको थियो ।

 निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र अर्थात् आगामी २०८५ पुस २५ गते अस्पतालका सबै काम सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिग्रेट सम्मिलित संयुक्त कम्पनीले तीन वर्षमै भवन निर्माणको काम सक्ने लक्ष्यसहित काम गरिरहेको अस्पतालले जनाएको छ । 

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालयका साइट इन्जिनियर शङ्कर सुवेदीले भवन निर्माणको काममा १० जना विशेष प्राविधिक सदस्यसहित दैनिक २२० जना कामदार खटिएको बताउनुभयो । अहिले धेरै कामदार दसैँ बिदामा घर गए पनि दुई दर्जनभन्दा बढी कामदार दसैँ बिदामा समेत काममा खटिएका छन् । अस्पतालका अनुसार अहिलेसम्म मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ । 

अस्पताल निर्माणका लागि आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले भने छ अर्ब १८ करोड ७५ लाख रुपियाँमा ठेक्का लिएको हो । अस्पतालको तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपत्कालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्लो तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले भवन निर्माण सम्पन्न भएपछि विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट उपलब्ध हुने जानकारी दिनुभयो । अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुने छ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्ने छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको गौरवको आयोजना भएकाले यसको निर्माणमा ढिलाइ नहोस् भनेर प्रदेश सरकारले यो वर्ष मात्रै एक अर्ब रुपियाँ निकासा दिइसकेको बताउनुभयो ।