रमेश पौडेल
पोखरा, असोज २२ गते । नेपालीमा एउटा उखान छ ‘बाह्र छोरा, तेह्र नाति बुढाको धोक्रो काँधैमाथि’ । उमेरले त्रिहत्तर लाग्नुभएकी खुसरी तामाङको जिन्दगीमा यो उखान चरितार्थ भएको छ । उहाँ आफ्नो दैनिकी चलाउन डोको बेच्दै पोखरा बजार डुल्नुहुन्छ ।
डोको बोकेर पोखराको मेथलाङतर्फ जाँदै गर्दा उहाँले भन्नुभयो, “सहरमा डोको बिकेन, गाउँघरतिर आएपछि घाँस, दाउरा र खेतीपाती गर्ने किसानले किन्छन् कि भनेर डाँडातिर लागेकी हुँ ।” पुरानो घर धादिङ भएको बताउने तामाङ काम र रोजगारीका लागि कास्कीको घाचोकमा बस्दै आउनुभएको छ । जङ्गलमा गएर बाँस र निगालो काटेर चोया बनाउनु उहाँको दैनिकी हो । आफ्ना श्रीमानले घरमा बसेर बुनेका डोको, नाम्लो र थुन्से बेचेर घर चलाउँदै आउनुभएकी तामाङ मेहनत अनुसारको आम्दानी भने हुन नसकेको गुनासो गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “श्रीमानले दिनमा एउटा डोको बुन्नुहुन्छ । एउटा डोकोको मूल्य जम्मा पाँच सय राखेका छौँ, तैपनि बिक्री हुँदैन ।” बुढाले डोको बुन्ने काम गरे पनि अरू सबै काम आफैँ गर्ने बताउँदै उहाँले भन्नुभयो, “मेहनत गर्ने मान्छे भोकै बस्नुपर्दैन ।” तामाङ मेहनती मात्र नभई प्रेरणाको स्रोत पनि हुनुहुन्छ । आफ्नो काम गर्न लाज मान्ने, काम गर्न गाह्रो हुन्छ भन्ने अहिलेको पुस्तालाई उहाँले सकेसम्म आफ्नो काम आफैँ गर्न र अरूको भर नपर्न सल्लाह दिनुहुन्छ ।
पछिल्लो समय गाउँघरका जग्गा बाँझो राख्ने, वस्तुभाउ नपाल्ने, मोबाइल मात्रै चलाएर बस्ने अहिलेको पुस्तासँग गुनासो गर्दै उहाँले खेतीपाती बढेमा जताततै हरियाली हुने र जीवन चलाउन पनि सजिलो हुने बताउनुभयो । आफ्नो सिपले बनाएको डोको, नाम्लो र थुन्सेले पनि जीवनयापन गर्न सकिने भन्दै उहाँले पुराना काम जान्ने मान्छे कम भेटिने उल्लेख गर्नुभयो । आफ्ना सन्तानसँग उहाँको केही गुनासो नभए पनि छोराछोरीले बुवाआमाको दुःख बुझ्नुपर्ने उहाँ बताउनुहुन्छ ।