• २२ असोज २०८२, बुधबार

नलगाड जलविद्युत् आयोजना अलपत्र

blog

फाइल तस्बिर ।

खलङ्गा समाचारदाता 

जाजरकोट, असोज २२ गते । यहाँको राष्ट्रिय गौरवको नलगाड जलविद्युत् आयोजना अलपत्र परेको छ । सात वर्षअघि सुरु भएको नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको दुई वर्ष बिते पनि सरकारले पहल नगरेपछि अलपत्र परेको हो । 

जाजरकोटको नलगाड नगरपालिका दल्लीमा भूमिगत गृह, बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण गर्ने डिपिआरमा छ । राष्ट्रिय गौरवको आयोजना सरकारको प्राथमिकतामा नपरेपछि जाजरकोटीलगायत कर्णालीका जनता निराश भएका छन् । डिपिआरको प्रतिवेदन एक वर्षअघि सरकारलाई बुझाए पनि आयोजनाप्रति बेवास्ता गरेका कारण ओझेलमा परेको छ । कर्णाली प्रदेशकै गौरवको आयोजना मुआब्जालगायत बाहिरी काम सम्पन्न भएको छ । 

नलगाड जलविद्युत् आयोजनाका साइड इन्जिनियर पदम थापाले अफिसियल भवन, ब्यारेक, ड्याम साइड जाने दुई वटा पहुँच मार्गलगायत बाहिरी काम भएको बताउनुभयो । उहाँका अनुसार स्वदेशी लगानीले निर्माण हुन नसक्ने नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट विदेशी लगानीबाट निर्माण सम्भव छ । लगानीकर्ता नहुँदा निर्माण अलपत्र परेको छ । आयोजना सम्पन्न गर्न मुआब्जालगायत अधिकांश काम सम्पन्न भए पनि ५५५ वटा घरको ह्रास कट्टी गर्ने कि नगर्ने भन्ने विवादले सरकारले उपलब्ध गराएको रकम खातामै थन्किएको छ । आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना सात वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

२०७३ सालमा दुई वर्ष सात महिनामा (डिपिआर) सम्पन्न गर्ने गरी अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियनको एमडब्लुएच र नेपालको उदय जेभी विस्तृत अध्ययन बोलपत्र गरेपछि डिपिआरको ठेक्का पाएका थिए । डिपिआरको कामसात वर्षपछि तयार भएको छ । 

डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियनको एमडब्लुएच र नेपालको उदय जेभीले गरेका छन् । आयोजनाको बाँध बनेपछि ४७४ करोड पानी भण्डारण हुने छ । आयोजनाका अनुसार ५४५ मिटरको चौडाइ, २१० मिटर अग्लो जलाशय, आठ हजार तीन सय मिटर अग्लो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना निर्माण भएपछि पूर्वाधार विकास, ग्रामीण अर्थतन्त्रको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, रोजगारी, व्यापार व्यवसायको अवसरमा वृद्धि हुने नलगाड नगरपालिका–५ का केशवप्रसाद शर्माले बताउनुभयो । 

उहाँका अनुसार सरकारले प्राथमिकतामा नराखेपछि दुई वर्षदेखि आयोजना अलपत्र अवस्थामा छ । जाजरकोटबाट कर्णाली प्रदेश सभाका सदस्य वेदराज सिंहलगायत आयोजनाप्रति चासो राख्ने सरोकारवाला निकायले सरकारसँग कर्णाली प्रदेशकै गौरवको आयोजनालाई अघि बढाइदिन पटक पटक आग्रह गरे पनि सुनुवाइ नहुँदा ओझेलमा परेको छ । पाँच वर्षपछि पूर्वसम्भाव्यताको काम सकिएको, ६५ किलोमिटर जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको आयोजनाका इन्जिनियर थापाले बताउनुभयो । 

उहाँका अनुसार २०६९ सालमा नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिको नामले अघि बढेको आयोजना २०७४ सालमा नलगाड जलविद्युत् हाइड्रोपावर कम्पनी भएको छ । प्रधानमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीको पहल कदमीबाट आयोजनाले गति लिने, कर्णालीका जनताको भाग्य भविष्य सुन्दर बन्ने इन्जिनियर थापाको भनाइ छ ।