• २२ असोज २०८२, बुधबार

बिपी राजमार्ग यातायात सञ्चालन गर्न पहल

blog

डाइभर्सन निर्माण गरिँदै ।

बनेपा समाचारदाता 

बनेपा, असोज २२ गते । बाढीबाट क्षतिग्रस्त भएको बिपी राजमार्गको अस्थायी डाइभर्सन तीन दिनभित्र निर्माण गरिने भएको छ ।  बाढीले सडक बगाएपछि डाइभर्सन बिहीबारभित्र निर्माण गरी अवरुद्ध सडक सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको सरकारी अधिकारीले बताएका छन् । 

डिभिजन भक्तपुरका सूचना अधिकारी विन्दु अधिकारीले बाढीले बगाएको डाइभर्सन बिहीबारभित्र सक्ने गरी डिभिजन र सडक पुनर्निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले काम सुरु गरेको बताउनुभयो । 

अधिकारीले भन्नुभयो, “बिहीबारभित्र बाढीले बगाएको डाइभर्सन सडक पुनर्निर्माण गरी अवरुद्ध भएको राजमार्गमा यातायात सञ्चालन गर्ने हाम्रो तयारी र लक्ष्य रहेको छ । वर्षा भएर खोलामा बाढी आएको खण्डमा भने एक दिन समय लम्बिन सक्छ ।”  

उहाँले बाढीपहिरोले क्षति पुगेको बिपी राजमार्गको चौकीडाँडादेखि कालढुङ्गासम्म पाँच स्थानबाट खोलाको बहाब परिवर्तन गरी सडक डाइभर्सन बनाउने काम सुरु भएको बताउनुभयो । अधिकारीले बाढीपहिरोबाट क्षति भएको राजमार्गको काभ्रेभन्ज्याङमा एकतर्फी सडक सञ्चालन, राजमार्गको दाप्चा एक नम्बर पुलमा सडकमा सामान्य डाइभर्सन गरेर बाटो सुचारु गरिएको बताउनुभयो । 

सडक डिभिजन भक्तपुरले राजमार्गको चौकीडाँडामा सोमबारदेखि खोलाको धार परिवर्तन गराएर सडक डाइभर्सन बनाउने काम सुरु भएको जनाएको छ । मङ्गलबार बिहानदेखि राजमार्गको लासकोटमा डाइभर्सन, चारसयबेँसीमा पहिरो पन्छाउने काम, मङ्गलटारदेखि भ्याकुरेखोलासम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । 

राजमार्गको पिन्थलीदेखि दाउन्नेसम्मको सडकको काम मङ्गलबार साँझसम्म सकिने अधिकारीले बताउनुभयो । 

अवरुद्ध सडक सञ्चालन गर्न साबिकको डाइभर्सन गरिएको स्थानबाट नै पुनः डाइभर्सन सडक बनाउनका लागि विभाग र निर्माण व्यवसायीका तर्फबाट एक्साभेटर, लोडर, टिप्परलगायतका १५ वटा उपकरण प्रयोग भएको बताउनुभयो । उहाँले राजमार्ग अन्तर्गत बोक्सीकुना र चौकीडाँडामा बाढीले सबै संरचना बगाएकाले काम गर्न कठिनाइ भइरहेको बताइएको छ । 

गत वर्ष असोज दोस्रो साता अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको २९ किलोमिटर सडक बाढीले पूर्ण रूपमा क्षति गरेको थियो । बाढीले क्षति गरेको राजमार्गमा सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेकोमा शुव्रmबार र शनिबारको वर्षासँगैको बाढीले पुनः डाइभर्सन सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । 

पालिकाको सहयोग 

काभ्रेपलाञ्चोक जिल्लाका तीन वटा स्थानीय तहले बाढीबाट क्षतिग्रस्त पूर्ण रूपमा बन्द रहेको बिपी राजमार्गलाई अस्थायी रूपमा तत्काल सञ्चालन गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, महाभारत गाउँपालिका, सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीको संयुक्त बैठकले बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् । 

बैठकले सडक विभाग र निर्माण व्यवसायीले अवरुद्ध राजमार्ग अस्थायी रूपमा सञ्चालन गर्न सोमबारबाट नै काम सुरु गरेको छ । आवश्यक काम गर्न  उपकरण र जनशक्ति अभाव भएमा सडक विभागले उपलब्ध गराउने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार सडक डिभिजनले सोमबारबाट नै अवरुद्ध बिपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालनका लागि कटुन्जेबेँसीबाट कामको सुरुवात गरेको हो । 

बैठकले नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ जोड्ने थानसिङबेँसीमा तत्कालका लागि बेलिब्रिजको व्यवस्थापन र दीर्घकालीन समस्या समाधान गर्न पक्की पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई अनुरोध गर्ने निर्णय गरेको रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । 

उहाँले तीन स्थानीय तहका प्रमुख, सडक डिभिजन र निर्माण व्यवसायीको बैठकले नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गेदोभान दाप्चा खोलामा बेलिब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो । 

अध्यक्ष लामाले अस्थायी रूपमा सडक निर्माणका लागि आवश्यक पर्ने उपकरणको अभाव भएको खण्डमा उक्त उपकरणको व्यवस्थापनका लागि स्थानीय तहले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो । उहाँले सोमबारबाट रोसीखोलाको बहाब कम भएकाले कामको सुरु भएको छ । मङ्गलबारबाट केही उपकरण थपेर काम अगाडि बढाइएको छ ।

 यातायात र विद्युत् सेवा अवरुद्ध 

वर्षाका कारण रोसी गाउँपालिकाको केन्द्र जोड्ने बिपी राजमार्गमा क्षति पुगेसँगै पालिकाबाट वडामा जोड्ने सबै कच्ची सडकमा समेत क्षति पुगेको अध्यक्ष लामाले बताउनुभयो । उहाँले वर्षाका कारण रोसीखोलाले बिपी राजमार्गछेउका विद्युत्का पोल बगाएपछि रोसी गाउँपालिका वडा नम्बर ५, ९, १० र ११ मा पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको छ । रोसी गाउँपालिकाभित्र करिब दुई हजार घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको गाउँपालिकाले जनाएको छ । 

यसै गरी बिपी राजमार्गमा क्षति पुगेसँगै जिल्लाको महाभारत गाउँपालिकाको केन्द्र जोड्ने सडकखण्डसमेत अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बिपी राजमार्गमा बाढीले क्षति गरेसँगै महाभारतको गाउँपालिका केन्द्र जानसमेत समस्या भएको बताउनुभयो । उहाँले बाढीपहिरोका कारण गाउँपालिकाबाट वडासम्म प्रायः सबै सडकमा क्षति पुगेको बताउँदै क्षतिग्रस्त ग्रामीण सडक सुचारु गर्नका लागि तयारी अघि बढाइएको बताउनुभयो ।