• २२ असोज २०८२, बुधबार

सुदूरपश्चिममा आजदेखि मौसम सुधार हुने

blog

कैलालीका किसानको खेतमा पाकेको धान र आकाशमा लागेको बादल । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज २२ गते । मनसुन बाहिरिए पनि वर्षा भइरहेको सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने मौसमविज्ञले बताएका छन् । 

पश्चिमी र स्थानीय वायुको प्रभावले सोमबारदेखि यो प्रदेशभरी वर्षा भइरहेको छ । मनसुन बहिर्गमन लगत्तै पोष्ट मनसुनको सक्रियताले पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार साहले बताउनुभयो । उहाँले बुधबारदेखि मौसम सुधार हुँदै जाने उल्लेख गर्नुभयो । 

“सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएलगत्तै पोष्ट मनसुन सक्रिय भयो” साहले भन्नुभयो, “त्यसको सक्रियताका कारण वर्षा भइरहेको छ ।” नेपालमा प्रि–मनसुन, मनसुन, पोष्ट मनसुन अवधि र हिउँदमा वर्षा हुनेगरेको मौसमविदले बताउने गरेका छन् । 

पोष्ट मनसुनको सक्रियताले सबैभन्दा बढी डडेल्धुराको ज्यामिरेखालीमा पानी परेको महाकाली बेसिन फिल्ड कार्यालयले जानकारी दिएको छ । सोमबार मात्रै ज्यामिरेखालीमा ७१.२ मिलीमिटर र पछिल्लो २४ घण्टामा ७४.८ मिलीमिटर पानी परेको प्रमुख साहले जानकारी दिनुभयो । 

मनसुन बाहिरिएलगत्तै पोष्ट मनसुन अवधिमा भएको वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकेर तयार भए पनि वर्षाका कारण काट्न समस्या भइरहेको कैलारी गाउँपालिका–७ का कृषक खेमराज चौधरीले बताउनुभयो । दसैँ लगत्तै धान काट्न सुरु गरेका किसान पानी पर्न थालेपछि समस्यामा परेका छन् । 

कृषक चौधरीका अनुसार कतिपयले धान काटेलगत्तै थ्रेसिङ गरेर भित्र्याए पनि धेरैजसो किसानको धान पानीले भिजेको छ । वर्षा नरोकिए भिजेको धान खेतमै उम्रिने उनीहरुलाई चिन्ता छ । जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख साहले बुधबारदेखि मौसम सुधार हुँदै जाने भएकाले त्यसपछि किसानलाई धान भित्र्याउन सहज हुने बताउनुभयो ।