• २१ असोज २०८२, मङ्गलबार

रोकिएका तीर्थयात्री गन्तव्यतर्फ

blog

भैरहवामा अलपत्र तीर्थयात्री गन्तव्यतर्फ प्रस्थान गर्ने क्रममा ।

भैरहवा समाचारदाता

भैरहवा, असोज २१ गते । भारतको वृन्दावनबाट फर्किएर रुपन्देहीको भैरहवामा रोकिएका करिब पाँच सय जना तीर्थयात्री गन्तव्यतर्फ प्रस्थान गरेका छन् । श्री रामजानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर नगरपालिका–४ का अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले सोमबार बिहान यात्रु गन्तव्यतर्फ प्रस्थान गरेको बताउनुभयो । अध्यक्ष रौनियारले १३ वटा बसमा यात्रु घरतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “असोज १० गते धार्मिक यात्राका लागि भारत प्रस्थान गरी नेपाल फर्किएका यात्रु समस्यामा परेकाले सहयोग गर्ने मौका मिल्यो ।” अध्यक्ष रौनियारले जिल्ला प्रशासन कार्यालयको समन्वय तथा उद्योगी, व्यवसायी, समाजसेवी र विभिन्न सङ्घ संस्थाको सहयोगमा भक्तजनलाई भोजन, बास र सुरक्षाको प्रबन्ध गरिएको बताउनुभयो । शनिबार बेलुकी नेपाल फर्किएका यात्रु अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, बाढी र डुबानले बाटो बन्द भएपछि भैरहवामा रोकिएका थिए । उनीहरू आइतबार दिउँसो श्री रामजानकी हनुमान मन्दिरपरिसरमा र साँझ धर्मशालामा बसेका थिए । स्थानीय विजय अधिकारीले तीर्थयात्रीलाई निःशुल्क भोजन र बासको व्यवस्थाका लागि उद्योगी–व्यवसायी, समाजसेवी तथा विभिन्न सङ्घ संस्थाले सहयोग गरेको जानकारी दिनुभयो ।

तीर्थयात्री धनञ्जय दासले भक्तजनलाई सहयोग गरेका भैरहवावासीको मन ठुलो रहेको आफूहरूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवावासीले दिल खोलेर सहयोग गर्नुभएको छ, मौसमका कारण घर जान नपाएका तीर्थयात्रीलाई सहयोग गर्नु पुनित र महान् कार्य हो ।” त्यसै गरी अलपत्र यात्रुलाई गन्तव्यतर्फ पु¥याउनका लागि नेपाल एयरलाइन्सको जहाजले चार्टर्ड उडानको समेत व्यवस्था गरेको छ । चार्टर्ड उडानमार्फत गन्तव्यतर्फ जान पाउने भएपछि सोमबार बिहानैदेखि गौतमबुद्ध विमानस्थलमा यात्रुको ठुलो भिड लागेको थियो । विपत्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएपछि अशक्त, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्ति लक्षित गरेर आइतबार राति ९ बजेका लागि उडान अनुमति मिले पनि प्राविधिक कारण जनाउँदै नेपाल वायुसेवा निगमले प्रेस विज्ञप्ति जारी गरेर उडान तालिका सोमबार दिउँसोका लागि सारेको थियो ।