बेलौरी समाचारदाता
कञ्चनपुर, असोज २१ गते । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्ने भन्दै बर्सेनि लाखौँ रुपियाँ खर्च गरे पनि चौपायाको उचित व्यवस्थापन भने हुन सकेको छैन । नगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ मा चौपाया हेरालाको ज्याला, घाँस, पराल तथा दाना र संरचना निर्माणमा झन्डै एक करोड रुपियाँ खर्च गरेको हो । छाडा पशुचौपाया सडक किनारा तथा स्थानीयका खेतबारीमा रात दिन डुल्ने गरेको गुनासो गरिएको छ । बेदकोटस्थित मुख्य सहर लालपुर, सुडा, दैजीलगायतका सडक छेउछाउमा छाडा पशुचौपाया खुला रूपमा छोडिएका छन् । खुला रूपमा छोडिएका पशुचौपायाले सडक दुर्घटनासमेत उत्तिकै निम्त्याएको छ भने, किसानले पनि हैरानी बेहोर्नु परेको छ ।
बेदकोट नगरपालिका–६ का स्थानीय विनोद पाण्डेले सरकारले छाडा पशुचौपायाका लागि बर्सेनि बजेट छुट्याउँदै आए पनि त्यसको सदुपयोग भने हुन नसकेको बताउनुभयो । चौपायाका कारण सडक दुर्घटनासमेत बढ्दै गएकाले रातिको समयमा सडकमा सवारी चलाउनसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो । दिनमा चौपाया सडकमा बास बस्दै गरेका छन् भने रातिको समयमा खेतमा नोक्सान गर्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
छाडा चौपायाका कारण अटो व्यवसायीसमेत चिन्तामा छन् । बेदकोट नगरपालिकाका अटो चालक जनकराज भट्टले पूर्वपश्चिम राजमार्गको बाटोभरि छाडा पशुचौपाया बस्दा अटो चलाउन समस्या हुने गरेको बताउनुभयो । छाडा पशुचौपायाका कारण यहाँ दैनिक चार/पाँच वटा सवारी दुर्घटनामा पर्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, पछिल्लो एक सातामा मात्रै एक दर्जन चौपाया घाइते भएका छन् भने २० सवारी चौपायाकै कारण दुर्घटनामा परेका छन् ।
बेदकोट नगरपालिकाले भने आर्थिक वर्ष २०८० र ०८१ मा छाडा पशुचौपाया व्यवस्थापनमा ८४ लाख ६८ हजार ७४१ रुपियाँ खर्च भएको जनाएको छ । पालिकाले ११ जना चौपाया हेरालुको ज्यालामा १३ लाख ८० हजार रुपियाँ, घाँस, पराल तथा दाना खरिदमा ४९ लाख नौ हजार ९२० रुपियाँ र २१ लाख ७८ हजार ८२१ रुपियाँ संरचना निर्माण गरी पालिकाले गत आवमा झन्डै एक करोड रुपियाँ खर्च भएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९ र ०८० मा नगरपालिकाले चौपाया व्यवस्थापनका लागि ७० लाख रुपियाँ खर्च भएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव भट्टका अनुसार, नगरपालिकामा चौपाया व्यवस्थापनका लागि वडा नम्बर–४ स्थित बालज्वती माध्यमिक विद्यालयको झन्डै १२ बिघा जमिन लिजमा लिएर सामुदायिक पशुचौपाया व्यवस्थापनका लागि गोठ निर्माण गरिएको छ । जसमा केही चौपाया राखिए पनि घरमा दुध खाएर चौपाया छाड्ने प्रवृत्ति देखिएकाले पूर्ण रूपमा व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनुभयो । बेदकोटमा कतिपय छोडिएका चौपाया भीमदत्त नगर क्षेत्रबाट समेत आउने गरेको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका मिलेर चौपाया व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ ।