चितवन समाचारदाता
चितवन, असोज २१ गते । चितवन माडी नगरवासीले विगत नौ वर्षदेखि विद्युत्को समस्या भोग्दै आएका छन् । अन्य स्थानमा सामान्य बनेको विद्युत् सेवा माडीवासीका लागि सधैँ कष्टकर हुदँै आएको छ । चितवन राष्ट्रिय निकुञ्जले चारैतर्फबाट घेरेको माडी नगरपालिका सहज सवारीसाधन र विद्युत्को सेवा पाउनबाट वञ्चित हुँदै आएको छ । २०७३ मङ्सिर ४ गतेदेखि भूमिगत विद्युत्मार्फत सेवा लिँदै आएका नगरवासी हरेक वर्ष केही दिन अन्धकारमा बस्न बाध्य हुन्छन् ।
शनिबार आएको वर्षाका कारण निकुञ्जभित्र रहेको भूमिगत तारमा समस्या आएपछि माडीवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । पश्चिम चितवनको चनौली विद्युत् वितरण केन्द्रमार्फत निकुञ्जबाट भूमिगत तार लगिएको छ । नौ किलोमिटर रहेको निकुञ्जभित्रको तार चुडिएको थियो । निकुञ्जभित्र कहाँ समस्या आएको हो पत्ता लगाउन सकिएको छैन ।
विद्युत् वितरण कार्यालय चनौलीका प्रमुख राजकुमार श्रेष्ठले भन्नुभयो, “लगातार वर्षा भएपछि निकुञ्जभित्रको भूमिगत तारमा समस्या आयो तर कहाँनेर समस्या छ पत्ता लगाउन नै तीन दिन लाग्यो । अब हामी बनाउछौँ ।” यस्तो समस्या भूमिगत तार लगेदेखि कै भएको उहाँको भनाइ छ ।
जङ्गलभित्र दुई स्थानमा समस्या देखिएको छ । तार चुडिएपछि विद्युत् आपूर्ति भएको छैन । विद्युत् सेवा अवरुद्ध भएपछि नगरवासी अन्धकारमा बस्न बाध्य भएको उहाँले बताउनुभयो । मर्मतको काम भइराखेकाले सोमबार रातिसम्म भए पनि विद्युत् सेवा सञ्चालन गर्ने सकिने आशा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले नौ वर्षदेखि विद्युत्को समस्या समाधान नहुँदा माडीवासीले दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि प्रधानमन्त्री, जनप्रतिनिधि सबैलाई राखेका छौँ तर अहिलेसम्म समाधान भएको छैन ।” उहाँका अनुसार पानी पर्नेबित्तिकै निकुञ्जभित्र समस्या आउने गरेको छ । सिङ्गो नगरपालिका अन्धकारमा बस्नु परेको छ । असार÷साउनमा पनि यस्तै समस्या आएको थियो । बिग्रेका स्थानमा मर्मत गरेर समाधान हुन्छ । दीर्घकालीन समाधानका लागि पहल गर्दा अहिलेसम्म भएको छैन । गत वर्ष असोजमा आएको बाढीका कारण एक साता विद्युत् सप्लाइ बन्द भएको थियो । तीन दिनदेखि विद्युत् बन्द हुँदा टेलिकमको टावरमा चार्ज हुन पाएको छैन । चार्ज नभएपछि मोबाइल नेटवर्क बन्द भएको छ । बैङ्क, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानलगायत सबै क्षेत्र प्रभावित भएको छ ।
नयाँ तार बिछ्याउने काम अधुरो
भूमिगत पुरानो तारमा समस्या आएपछि थप अर्को तार बिछ्याउने तयारीले पूर्णता पाउन सकेको छैन । नौ वर्षअगाडि बिछ्याइएको तारमा धेरै पटक समस्या आएपछि मर्मत गर्न जटिल हुँदै आएको छ । बर्सातको समयमा खपतको भार धेरै हुने, अन्य समयमा पनि भूमिगत तारमा समस्या आउँदा काम गर्न समस्या हुँदै आएको विद्युत् वितरण कार्यालय चनौलीका प्रमुख राजकुमार श्रेष्ठ बताउनुहुन्छ ।
सिङ्गल सर्किट भएको भूमिगत तारमा समस्या आएपछि निकुञ्जभित्र अर्को तार बिछ्याएर लैजानका लागि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गरी निर्माणको प्रव्रिmया अगाडि बढाउन धेरै समस्या हुँदै आएको थियो । इआइएको लागि सर्भे, त्यसको प्रतिवेदन र अनुमति लिनकै लागि तीन वर्ष लागेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत चितवन निकुञ्जभित्र सामान्य विकास निर्माणको काम गर्न कठिन हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौँडा डभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाले विभागबाट काम गर्न अनुमति दिए पनि अन्य प्रव्रिmया पूरा गर्न समय लाग्ने भएकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । निकुञ्ज, संरक्षण क्षेत्रका संस्था, व्यक्ति, नगरपालिकाका प्रतिनिधिलगायतसँग छलफल गरेर मात्र ठेक्काको प्रव्रिmया अगाडि बढाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सिङ्गल सर्किटको पुरानो मोडलको तार भएका कारण समस्या आउने गरेको छ । अब राख्ने नयाँ तारमा कम समस्या आउने भएकाले यो स्थायी समाधानको उपाय हुने छ ।”
माडीको विद्युत् समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओलीसमक्ष चितवनका जनप्रतिनिधिले ज्ञापनपत्र बुझाएर दबाब दिँदै आएका थिए । अर्को भूमिगत तार बिछ्याउन सरकारका सम्बन्धित मन्त्रालय तथा वन मन्त्रालयले अनुमति दिएपछि सरोकारवालाबिच छलफल गरेर निर्माण प्रव्रिmया अगाडि बढ्ने भएको हो ।