विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २१ गते। सप्तरीको खड्क नगरपालिकामा पिकअप गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका वडा १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो।
सोमबार राति ११ बजेतिर बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको नम्बर नखुलेको कुखुरा बोकेको पिकअप गाडीले पैदलयात्री मण्डललाई ठक्कर दिएको थियो। ठक्करबाट टाउको, छाती र दाहिने हातमा चोट लागि गम्भीर घाइते भएका उहाँलाई तत्काल जीवनज्योति अस्पताल बोदेबर्साइनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा उपचारकै क्रममा मंडलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीये जानकारी दिनुभयो ।
ठक्कर दिने सवारीसाधन र चालक फरार रहेकोले खोजीकार्य भइरहेको उहाँले बताउनुभयो।