नवराज कट्टेल
विराटनगर, असोज २१ गते । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा वर्षापछिको बाढीका पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । क्षतिको यकिन विवरणका लागि उद्योगी–व्यवसायीका छाता संस्थाले सोमबारदेखि डुबानग्रस्त उद्योगको निरीक्षण सुरु गरेका हुन् ।
सुनसरी–मोरङ कोरिडोर र मोरङको कटहरी गाउँपालिकामा रहेका लगभग दुई दर्जन उद्योगमा पानी पसेर क्षति गरेको छ ।
उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चुडामणि भट्टराईका अनुसार बाढीबाट ५० करोड रुपियाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । त्यसको यकिन विवरण सङ्कलन भइसकेको छैन । असोज १८ र १९ गतेको वर्षापछि डुबान तथा खोलाको बाढी उद्योगभित्र पसेको हो । अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार उत्पादन र मेसिनमा क्षति पुगेको बताइएको छ ।
सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर्समा ट्याङ्ग्रा खोलाको बाढी पस्दा सबैभन्दा धेरै क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिम्सिनाका अनुसार ७० मिटर लामो बाहिरी पर्खाल बाढीले भत्काउँदा उद्योग परिसर जलमग्न भएको हो । आरके गोल्छा ग्रुपका निर्देशक सोम अधिकारीका अनुसार अरिहन्त मल्टिफाइबर्स उद्योग परिसरका जुटको कच्चा तथा मेसिनमा क्षति पुगेको हो ।
बाढीले जुट, उत्पादित सामग्री र मेसिनमा समेत क्षति पुगेको छ । प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले कच्चा पदार्थ, तयारी वस्तु र मेसिनरीसमेत गरेर ३० करोड रुपियाँ बराबरको क्षति अनुमान गरिएको छ । उद्योगमा क्षति पुगेपछि दैनिक चार हजार दुई सय जना मजदुरलाई केही दिन होल्डमा बस्न भनिएको छ । दैनिक तीन सिफ्ट चल्ने
उद्योग सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । त्यसै गरी क्वालिटी बिस्कुट, पशुपति सिमप्याक, प्रगति टेक्सटायल, बाबा मैदा मिल, हुलास वायरलगायतमा बढी क्षति देखिएको सङ्गठनका महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।