काठमाडौँ, असोज २१ गते । पाँचौँ एपिएम जुनियर टेबल टेनिस च्याम्पियनसिप–२०२५ मा रिवन वज्राचार्य, प्रज्ञा महर्जन, रिजा शाक्य, सुरम्या शाक्य, हिमाल विष्ट र योगी पौडेल आआफ्ना समूहमा विजेता बन्नुभएको छ । नेपाल एपिएम क्लबद्वारा आयोजित प्रतियोगितामा विजेता बनेका सबै खेलाडी दक्षिण कोरियामा हुने वाइटिटिएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि पनि चयन भएका छन् । सो प्रशिक्षण शिविर सन् २०२६ को मे १६ देखि २६ सम्म हुने छ । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिनुहुने छ ।
पाँचौँ एपिएम जुनियर टेबलटेनिसमा विभिन्न क्लबका १५० जना खेलाडीले सहभागिता जनाएका थिए । यु–१३ उपाधि भिडन्तमा ब्वाइजतर्फ यल टेबलटेनिसका रिवनले नेपाल एपिएमका दिनेश बोहोरा तथा गल्र्सतर्फ स्ट्याग च्याम्पियनसिप टेबलटेनिस एकेडेमीकी प्रज्ञाले भक्तपुरकी उरवी सुवाललाई हराउनुभयो । ब्वाइज यु–१६ फाइनलमा यल टेबलटेनिसका रिजा शाक्यले बुटवलका सुबिन क्षेत्री तथा गल्र्स वर्गमा स्ट्यागकी सुरम्याले होप्स एकेडेमीकी नर्मदा खैतूलाई निराश बनाउनुभयो । यु–१९ उमेर समूहमा विजेता बन्न ब्वाइज वर्गमा होप्सका हिमाल विष्टले स्ट्यागका सार्थक मानन्धर तथा गल्र्सतर्फ होप्सकी योगीले स्ट्यागकी सुस्मिता खड्कालाई पराजित गर्नुभयो ।