सिद्धार्थनगर, असोज २१ गते । पश्चिम नेपालमा दसैँको समयमा नाचिने सरायँनाच पछिल्ला वर्षहरूमा सहरमा समेत प्रदर्शन हुन थालेको छ । सरायँनाच दसैँको समयमा नाचिने महत्वपूर्ण सांस्कृतिक परम्परासमेत हो । विजयोत्सवका अवसरमा सरायँनाच नाचिने परम्परा छ ।
रुपन्देहीमा पनि पहाडी क्षेत्रका मानिसको बाहुल्य भएसँगै संस्कृतिसमेत सहरकेन्द्रित बनेको हो । बुटवलका दुई महत्वपूर्ण स्थान बुटवलको देवीनगर र जितगढीमा सरायँनाचको तयारी तीव्र पारिएको छ । बुटवल–१३, जितगढीको दुर्गामन्दिरपरिसरमा जितगढी सरायँ व्यवस्थापन समितिले सोमबार सरायँनाच प्रदर्शन गरेको हो ।
यसै गरी बुटवल–११, देवीनगरस्थित नवदुर्गा मन्दिर समितिको आयोजनामा असोज २१ गते मङ्गलबार सरायँनाच प्रदर्शन हुने भएको छ । बुटवलमा विगत १६ वर्षदेखि सरायँनाच प्रदर्शन गर्न लागिएको हो । लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, दाङ तथा गण्डकी प्रदेशको बागलुङलगायतका जिल्लामा सरायँनाच नाचिन्छ ।