स्याङ्जा समाचारदाता
स्याङ्जा, असोज २१ गते । आँधीखोला–६, फापरथुममा रहेको आनन्द आश्रम ज्ञान केन्द्रले दुई साहित्यकारलाई ‘आनन्द आश्रम प्रज्ञा सम्मान’ प्रदान गरेको छ । केन्द्रले गरेको साहित्यिक गोष्ठी तथा तेस्रो साधारण सभामा कवि पोषराज पौडेल र चिन्तु गिरीलाई सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका–१९ हाल चितवनका पौडेल र पुतलीबजार नगरपालिका–१४ का गिरी लामो समयदेखि साहित्यमा क्रियाशील हुनुहुन्छ । गोष्ठी तथा तेस्रो साधारण सभामा प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुलीले दुवैलाई खादा, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो ।
संस्थाका संस्थापक संरक्षक पूर्वमन्त्री त्रिलोचन ढकालले कार्यक्रममा सम्मानित कविहरूको साहित्यिक यात्राका सम्बन्धमा प्रकाश पार्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरी, देवी सापकोटा, ई. सुदर्शन शर्मा, विद्यार्थी शिखा सुनार र रिदम ढकालले कविता वाचन गर्नुभएको थियो ।
यसै गरी साधारण सभाले दुई वर्षका लागि टीकाराम ढकाल (काका) को अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा दीप्तिनारायण शर्मा, सचिवमा दोलराज ढकाल, उपसचिवमा खेमनारायण लामिछाने, कोषाध्यक्षमा नन्दबहादुर जिटी रहनुभएको छ ।
सदस्यमा इन्द्रमणि ढकाल, खगिसरा जिटी, गृहलक्ष्मी ढकाल, डा. ऋषिराम ढकाल, देवी सापकोटा, मानबहादुर जिटी, शारदा शर्मा, शेरबहादुर शाही, हिमलाल पुरी र हिमालयजङ्ग बानियाँ हुनुहुन्छ ।