• २० असोज २०८२, सोमबार

जयपुरको सवाई मानसिँह अस्पतालमा बिजुलीको सर्किट सर्ट भएर आगलागी हुँदा छ जनाको मृत्यु

blog

जयपुर (भारत), असोज २० गते । जयपुरको सवाई मानसिँह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको कार्यालयले ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियुमा आगलागी हुँदा छ जनाको ज्यान गएको जनाइएको छ ।

एसएमएस अस्पतालको प्रेस विज्ञप्तिका अनुसार आइतबार राति करिब ११:२० बजे ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियु-१ मा बिजुलीको सर्किट सर्ट भएका कारण आगलागी हुँदा सम्पूर्ण आइसियु धुवाँले भरिएको थियो ।

ट्रमा सेन्टरको न्युरोसर्जरी आइसियु-१ मा ११ जना बिरामीलाई भर्ना गरिएको थियो, जसलाई तुरुन्तै ट्रमा सेन्टरको अन्य आइसियुमा सारिएको थियो भने छ जना बिरामीको मृत्यु भएको हो । अस्पताल प्रशासनका अनुसार आइसियु-१ मा लागेको आगोलाई फायर ब्रिगेड, अस्पताल कर्मचारी, नागरिक सुरक्षा र प्रहरी प्रशासनले तुरुन्तै नियन्त्रण गरी अन्य वार्ड र आइसियुमा फैलिनबाट जोगाएको थियो ।

गृहमन्त्री अमित शाहले जयपुरको सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरको आइसियुमा आगलागी विरामीको मृत्यु भएकोमा दुःख व्यक्त गर्नु भएको छ । शाहले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नु भएको छ ।  

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उहाँले घटनाको पुष्टि गर्दै घटना दुः खद भएको र स्थानीय प्रशासनले बिरामीको उपचार र सुरक्षाका लागि आवश्यक तथा सम्भावित कदम चालेको जनाउनुभएको छ । रासस/एएनआई