• २० असोज २०८२, सोमबार

नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत

blog

स्टकहोम, असोज २० गते । नोबेल पुरस्कार घोषणा शृङ्खला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ ।

सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जस अन्तर्गत २२९ जना विज्ञ पुरस्कृत भइसकेका छन् । गत वर्ष अमेरिकी वैज्ञानिक आदरणीय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो । 

माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणु हुन्, जसले कोशिकाभित्र स्विच अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दछन् । यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन् । 

नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ । पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक आदरणीय अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो । नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक हुनुहुन्थ्यो । सन् १८९६ मा उहाँको निधन भएको थियो । रासस/एपी