• २० असोज २०८२, सोमबार

वैकल्पिक मार्गः मन्थली–चरिकोट हुँदै काठमाडौं

blog

बिपी राजमार्ग अवरुद्ध भएपछि चरीकोटमा सवारीसाधनको चाप । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले 

चरीकोट, असोज २० गते । गतर्षको अविरल वर्षाले क्षति गरेर बनेको डाइभर्सन रोशीखोलाको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुहरुले वैकल्पिक राजमार्ग प्रयोग गरेर उपत्यका प्रवेश गर्न थालेका छन् ।

बिपी राजमार्गको विकल्पमा रामेछाप सदरमुकाम मन्थलीबाट दोलखा हुँदै पुष्पलाल राजमार्गमार्फत उपत्यका प्रवेश गर्न थालेका हुन् । बिपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली–तामाकोशी–दोलखाको चरिकोट–अरनिको राजमार्गको खाडीचौर हुँदै काठमाडौं पुग्न सकिन्छ । 

जसका कारण दोलखामा सवारीसाधनको चाप बढेको छ । चरिकोट हुँदै उपत्यका छिर्ने वैकल्पिक मार्गमा सोमबार दिउँसोसम्म सवारीसाधन आवतजावत गरिरहेका छन् ।

बिपी राजमार्ग बन्न केही दिन लाग्ने भएपछि सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गरेर सञ्चालनमा ल्याइएको छ । बिपी राजमार्गमा रोशीखोलाको कटानले अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रूपमा खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखालगायतका जिल्लाका सवारी साधन पुष्पलाल राजमार्ग हुँदै चरिकोटबाट राजधानी जान थालेका छन् ।

उपत्यका जान पुष्पलाल राजमार्ग प्रयोग गर्न थालेपछि सवारी चाप बढेको छ । राजमार्गको विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको दोलखा प्रहरीले जनाएको छ । जिल्ला  प्रशासन कार्यालयसहित जिल्लाका सबै सुरक्षा निकायले वैकल्पिक मार्ग हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनलाई सहजीकरण गरिरहेका छन् । 

सवारीसाधन र अलपत्र यात्रुहरुको व्यवस्थापनका  लागि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतो नै सडकमा निक्लनुभएको थियो ।

शनिबार अपरान्हदेखि आइतबार मध्यान्हसम्म करिब २ हजारभन्दा बढी सवारी साधन यो राजमार्ग हुँदै राजधानी गएको प्रहरीले जनाएको छ । शनिबार राति सवारी साधनको अत्यधिक चाप भएपछि त्यसक्षेत्रबाट आएका ३०० भन्दा बढी सवारी साधन चरिकोटमा होल्ड गरेर आइतबार बिहान गन्तव्यका लागि छाडिएको उहाँले बतानुभयो ।

होल्ड गरिएका सवारीसाधनका यात्रुहरूलाई प्रहरी, जिल्लाका होटल व्यवसायी र स्थानीयहरुले निःशुल्क खाना र आवासको व्यवस्था गर्नुभएको थियो । 

आइतबार दिउँसो पुष्पलाल राजमार्गअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका –१ भिरकोट, कालीदहमा सडक भासिएपछि केहीबेर राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजनले केही घण्टामा अवरुद्ध राजमार्ग निर्माण गरी सवारी आवागमन सञ्चालनमा ल्याइएको चरिकोट कार्यालय प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । सडक डिभिजन कार्यालय चरिकोटले दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला हेर्दै आएको छ । 

सडक डिभिजन अन्तर्गत पर्ने दोलखाको मुख्य राजमार्ग पुष्पलाल र सिन्धुपाल्चोकको अरनिको राजमार्गमा हालसम्म सवारीसाधन सञ्चालनमा कुनै समस्या नरहेको प्रमुख भण्डारीले बताउनुभयो ।