• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

blog

काठमाडौं, असार १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार ६४ औँ संसद दिवसको अवसर पारेर सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रको रुपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो ।


‘‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं । हामी सबै मिलेर यस यात्रालाई चाँडै टुङ्गोमा पुर्‍याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो ।,’’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भइसकेको छ । यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणालीलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण निर्वाह गर्ने विश्वास लिएको छु । अन्तमा, यो दिवसमा अवसरमा सम्पूर्ण राष्ट्रको सर्वोपरी हित अनुकूल हुने गरी काम गर्न अनुरोध गर्दछु ।’’

प्रधानमन्त्री देउवाले मुलुक दीगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा  राख्नुभयो ।