अस्मिता पोखरेल
धादिङबेंसी, असोज २० गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा एक युवकले आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालका अनुसार घटनापछि यमबहादुरलाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । प्रहरी घटनास्थलमा पुग्दा कँडेल हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए । पछि उनी घरभित्र प्रवेश गरेपछि प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको एसपी रिजालले जानकारी दिनुभयो ।
आफ्नै आमाको हत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।