• २० असोज २०८२, सोमबार

खुर्सानी टिप्न कामदारलाई भ्याइनभ्याई

blog

धुर्कोट गाउँपालिका –१ नयाँगाउँका चन्द्र ताम्राकार दम्पतीको बारीमा फलेको अकबरे खुर्सानी । तस्विरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज २० गते । धुर्कोट गाउँपालिका –१ नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकारको फर्ममा उत्पादन भएको अकबरे खुर्सानी टिप्ने लहर चलेको छ । ४० लाख रुपियाँ बढीको बिक्री गर्ने उद्देश्य बोकेर ताम्राकारले करिब ७० रोपनी बारीमा अकबरे खुर्सानी रोप्नुभएको छ । 

ओमनको पानीजहाजको जागीर भएकाले दुई–दुई महिनामा गाउँ आउन मिल्छ । छुट्टीमा घरको कृषि व्यवसायको व्यवस्थापन गरेपछि गोडमेल र बजारको काममा श्रीमती मीना ताम्राकारसँगै कामदार पनि कार्यरत छन् । अहिले स्थानीय र जिल्ला बाहिरका गरेर स्थायी सात र १५ देखि २० जना मौसमी कामदार फर्ममा छन् ।

ताम्राकारले अकबरे खुर्सानीको बजार र मूल्य राम्रो भएकाले बर्सेनी व्यवसाय थप्दै लैजानुभएको छ । उहाँकोमा गत वर्षसम्म आठ हजार अकबरे खुर्सानी थिए । अहिले बढाएर ३० हजार बोट बनाउनुभएको छ । पाकेर टिपेपछि सिधै बुटवल पुग्ने भएकाले बजारको समस्या छैन । 


ताम्राकारका अनुसार अहिलेसम्म ५० क्विन्टल रातो अकबरे खुर्सानी बिक्री भएको छ । भदौबाट नयाँ अकबरे पाक्न सुरु भएकाले टिप्न र बजार पठाउन लहर चलेको छ । खुर्सानी मात्र नभएर ४० क्विन्टल टमाटर, बन्दा र फूलकाेपी ४० क्विन्टल, लौका ३० क्विन्टल र तिते करेला, धनियाँ तथा काँक्रा १५ क्विन्टल बिक्री भएको ताम्राकारले जानकारी दिनुभयो । 

मौसमले साथ नदिएकाले सोचेअनुसारको टिप्न समस्या भएको छ । ताम्राकारले अहिले करिब २०० क्विन्टल खुर्सानी उत्पादनको लक्ष्य राख्नुभएको छ । उहाँले ओख्रेनी कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरेर व्यावसायिक रुपमा खुर्सानी खेती गर्न थालेकाे डेढ वर्ष भयो । 

गत वर्ष पनि प्रतिकिलो सरदर २५० रुपियाँमा खुर्सानी बिक्री भएकाले करिब १२ लाख रुपियाँको कारोबार भएको थियो । सुन्तला र केरा खेतीसहित बाख्रा र भैंसी पनि पालन गर्नुभएको छ । उहाँले लगानी, बजार र समग्र योजनामा आफैंले काम गरे पनि कामको नेतृत्व श्रीमती मीनाको काँधमा छ । 

नयाँगाउँ जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने ठाउँ हो । बसाइँसराइले गाउँ खाली हुँदैजाँदा सुन्तलाका बँगैचा समेत अर्गेला बन्ने अवस्था रहेको छ । जसको कारण आफूले परदेशबाट आउँदा आम्दानी खाने गरेर ५०० बोट सुन्तला र स्थानीय जातका ३०० बोट केरा रोपेको ताम्राकारले बताउनुभयो । 


उहाँको बारीमा १२ वटा टर्नेमा टमाटर छन् । मासिक १२ देखि २५ हजार रुपियाँ कमाउने कामदार फर्ममा कार्यरत छन् । संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले १५ हजार राशिको ‘सहिद जेदुराम भण्डारी वर्ष उत्कृष्ट कृषि पुरस्कार’ बाट ७० रोपनीमा व्यावसायिक खुर्सानी खेती गर्ने ताम्राकारलाई सम्मान गरेको छ । 

धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेलले ताम्राकार दम्पतीको कृषि कर्म गाउँपालिकाको लागि मात्र नभएर जिल्लाकै उत्कृष्ट र सम्मान गर्न योग्य रहेको बताउनुभयो । उहाँले आफूहरुले बर्सेनी सीप, प्रविधि, अनुदानसहित पुरस्कार प्रदान गरेर व्यावसायिक प्रेरणा प्रदान गरिरहेको बताउनुभयो ।