• २० असोज २०८२, सोमबार

रतुवा खाेलामा आएको बाढीले ६५ भन्दा बढी परिवार प्रभावित

blog

कमल गाउँपालिकामा मन्दिर र घर डुबानमा ।

विष्णुप्रसाद पोखरेल

दमक, असोज २० गते । अविरल वर्षासँगै रतुवा खोलामा आएकाे बाढीका कारण झापाको कमल गाउँपालिका वडा ७ मा ६५ भन्दा बढी घर डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल गाउँपालिकामा वडा ७ सबैभन्दा बढी प्रभावित बनेको पाइएको छ ।

बाढीका कारण २६ घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र थप ४२ घरपरिवार डुबानका कारण प्रभावित बनेको राईले जानकारी दिनुभयो । वडा कार्यालयको संयोजनमा तत्कालै खानेकुरासहितको राहत  प्रदान गरिएको उहाँले बताउनुभयो ।

स्थानीयको घरगोठसहित स्थानीय विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थलहरु समेत बाढीका कारण प्रभावित बनेको वडाध्यक्ष पृथ्वीपति राईले बताउनुभयो । सोमबार बिहानदेखि पानीको बहाव कम भएपछि केही सहज भएको उहाँको भनाइ छ ।

वडा ६ को खयरबारीमा पनि खोलाको किनारमा कटान तीव्र बनाएर तटबन्ध भत्काउने अवस्थामा पुग्न लागेको वडाध्यक्ष नरेन्द्र भट्टराईले बताउनुभयो । सशस्त्र प्रहरी र स्थानीय मिलेर तटबन्ध जोगाउने काम सुरु गरिएको छ ।