• २० असोज २०८२, सोमबार

डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा

blog

लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङका लागि जान लागेका सवारीसाधन । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज २० गते । आइतबारदेखि मौसममा सुधार आएपछि बाढीपहिरोको जोखिमका कारण तीन दिनका लागि बन्द गरिएको डुम्रे–बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडकमा सवारीसाधन सञ्चालन सुरु भएको हो । सडक सञ्चालनमा आएसँगै ती क्षेत्रमा सवारीसाधनको आवागमन नियमित हुन थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहराले जानकारी दिनुभयो । 

उहाँका अनुसार बेंसीसहरबाट काठमाडौं, चितवन र पोखरातर्फका सवारीसाधन यात्रु लिएर गएका छन् । मनाङ जाने सवारी पनि निर्बाध रूपमा चल्न थालेका छन् । भारी वर्षाको सम्भावना देखिएपछि प्रशासनले शनिबार सार्वजनिक सूचना जारी गरी असोज १८, १९ र २० गतेसम्मका लागि उक्त सडक मार्गमा सवारी आवागमन रोकिएको थियो । 

वर्षा कम भएपछि आइतबार बिहानदेखि काठमाडौं बाहेक अन्य स्थानमा जाने यातायात सञ्चालनमा आएको थियो । डिएसपी बोहराका अनुसार काठमाडौं, पोखरा र चितवनबाट पनि सवारीसाधन लमजुङ भित्रिएका छन् । “पहिले जोखिमका कारण रोकिएको सडक अहिले निर्बाध चल्न थालेको छ” उहाँले भन्नुभयो । 

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पनि सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो सवारीसाधन चल्न दिइए पनि रातको समयमा भने बन्द गरिएको छ । “दिउँसो मौसम सुधार भइरहेको छ, तर राति सडक साँघुरो र चिप्लो हुने भएकाले ढुङ्गा खस्ने जोखिम रहन्छ” उहाँले भन्नुभयो, “त्यसैले रातिको आवागमन रोक्ने निर्णय यथावत छ ।”

काठमाडौं, पोखरा र चितवन जाने लामो दूरीका बाहेक ग्रामीण क्षेत्रमा सञ्चालन हुने सडकमा कहीँकतै अवरोध नरहेको र जिल्लाभर बाढीपहिरोले पनि कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।