–डेभिड किन्डे
जब अल्बर्ट आइन्सटाइनलाई इजरायलको राष्ट्रपति बन्न आग्रह गरियो, एक खालको तरङ्ग आयो । प्रख्यात भौतिकशास्त्री आइन्सटाइन राष्ट्रपति पद चाहँदैनथे र इजरायलसमेत उनीबाट यो जिम्मेवारी स्वीकार नगरियोस् भन्ने चाहन्थ्यो ।
सञ्चारमाध्यमहरू आइन्सटाइनलाई निरन्तर उक्साइरहेका थिए । के उनलाई इजरायलको राष्ट्रपति पदका लागि प्रस्ताव गरिएको थियो ? कुरा त के आएको थियो भने पूर्णतया औपचारिक पद उनलाई प्रस्तावित भयो तर के उनले त्यो स्वीकार गर्लान् ?
भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता आइन्सटाइनले सञ्चारमाध्यमलाई भनिरहे, “मलाई कहिल्यै पनि यस्तो सन्देश आएन ।”
यस कथनमा अर्धसत्य थियो । इजरायल सरकारद्वारा गुपचुप रूपमा आइन्सटाइनलाई पहिल्यै राष्ट्रपति बन्न प्रस्ताव गरिएको थियो तर उनी त्यो जिम्मेवारीमा बस्न चाहँदैनथे । वास्तवमा इजरायलको सरकार पनि चाहँदैनथ्यो यो प्रस्ताव आइन्सटाइनद्वारा स्वीकार नहोस् ।
साँच्चै भन्नु पर्दा आइन्सटाइनको अस्वीकृति भएको अवस्थामा कुनै पनि पक्षले लज्जित हुनु नपरोस् भनेर नेपथ्यमा व्यवहार कुशल कूटनीतिक अभ्यास भइरहेको थियो ।
एक समाचारपत्रले सर्वप्रथम यो विचार ल्यायो या पेचिलो नाट्य मञ्चनको सुरुवात सन् १९५२ नोभेम्बर ९ मा त्यतिबेला भयो जब नवस्थापित राष्ट्र इजरायलका प्रथम राष्ट्रपति चैम वाइजम्यानको निधन भयो । अबको राष्ट्रपति को हुने भन्दै सञ्चार माध्यमले अड्कलबाजी सुरु गर्न थाले । इजरायलमा राष्ट्रपति एक संवैधानिक सम्राट सरह नाम मात्रको हुन्छ र शासन सत्ता सञ्चालन अधिकार वास्तवमा प्रधानमन्त्रीमा निहित रहन्छ । सञ्चार माध्यममा कुरा उठेपछि ७३ वर्षका आइन्सटाइन चर्चाको केन्द्रविन्दु बन्न पुगे ।
त्यतिबेला इजरायलको सर्वाधिक लोकप्रिय समाचारपत्र मारिवले सन् १९५२ नोभेम्बर १४ मा भावी राष्ट्रपति पदका लागि आइन्सटाइनको नाम सुझाव दियो । हाइफा विश्वविद्यालयमा रिसर्च एसोसियट्स तथा ‘आइन्सटाइन्स लेगेसी ः फ्रम जनरल रिलेटिभिटी टु ब्ल्याक होल मिस्ट्रिज’ का लेखक डा. गेलिना वेन्सटिनले त्यस समयको घटनाका बारेमा भनेकी छन्, “राष्ट्रभक्तिले ओतप्रोत र पत्रकारिताको अन्तःप्रेरणाबाट पत्रिकाले प्रस्ताव गरेको हुनु पर्छ । एउटा समाचारपत्रले उठान गरेको विचार वास्तवमा राजनीतिक प्रस्तावका रूपमा रूपान्तरित हुन गयो । जुन विश्वको एक निकै नै लोकप्रिय व्यक्तिप्रति लक्षित थियो । ती यस्ता व्यक्ति थिए जसले कहिल्यै पनि इजरायलमा बसोबास गरेनन् र उनमा राजनीतिक महत्वाकाङ्क्षा पनि थिएन ।”
आइन्सटाइनलाई पृथ्वीको सर्वाधिक महान् यहुदीका रूपमा प्रस्तुत गर्दै इजरायलका प्रधानमन्त्री डेभिड बेन गुरियनले उनलाई यो पद प्रदान गर्नु आफ्नो कर्तव्य भएको महसुस गरेको कुरा त्यतिबेला बेन गुरियनका राजनीतिक सचिव यित्ज्याक नेभनले सन् १९७९ मा आइन्सटाइनको जन्मशताब्दी वर्षका अवसरमा आयोजित परिसंवाद कार्यक्रममा भनेका थिए ।
यस कामका लागि आइन्सटाइन उपयुक्त भएको कसैले सोचेनन्
दुवै पक्षले यसलाई राम्रो विचार मानेनन् तर कुनै अर्को उपयुक्त विकल्पसमेत देखिएन । नेभनले पछि बेन गुरियनको भनाइ यसरी सम्झिए, “भन्नुस् त यदि उहाँले स्वीकार गर्नुभयो भने मैले के गर्ने ! मैले उहाँलाई यो पद प्रस्ताव गर्नु नै प¥यो किनभने नाइँ भन्न नसकिने भयो । यदि उहाँले स्वीकार गर्नुभयो भने हामी समस्यामा पर्ने छौँ ।”
आनाकानीको कारण के थियो भने त्यतिबेला न्युजर्जीको प्रिन्सटनमा इन्स्टिच्युट फर एड्भान्स स्टडीमा अनुसन्धानमा संलग्न आइन्सटाइन स्थापित मान्यताविपरीतका स्वतन्त्र विचारक मानिन्थे । जो औपचारिक कार्यक्रममा समेत फाटेका, मैला लुगा लगाउने गर्थे ।
मानवतावादका एक कट्टर हिमायती तथा प्रतिबद्ध शान्तिवादी आइन्सटाइन अनेक मुद्दामा प्रायः आफ्ना विचार राख्ने गर्दथे । उनी इजरायललाई पुरापुर समर्थन गर्दथे तर अरबीसँग गरिएको व्यवहारलगायत उसका केही नीतिको आलोचक पनि थिए । भौतिकशास्त्री आइन्सटाइनको विश्वास थियो, यहुदीहरूले आफ्ना अरबी छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा बस्नु पर्छ ।
जेरुसलेमको हिब्रु विश्वविद्यालयमा अल्बर्ट आइन्सटाइन अर्काइभ्समा कार्यरत छाया बेकरको प्रतिक्रिया छ, “एक दिन समर्थनको बोली बोल्ने र भोलिपल्ट नै त्यसमा निराशा व्यक्त गर्ने व्यक्ति मानिन्थे । राष्ट्रवादप्रति उनको उपेक्षा निरन्तर रह्यो ।”
व्यक्तिगत रूपमा आइन्सटाइन यस प्रस्तावप्रति नम्र नै थिए तर तुरुन्तै त्यसलाई अस्वीकार गरिदिए । एक इजरायली नागरिक बन्न र राजनीतिक क्षमता प्रदर्शन गर्नका लागि आइन्सटाइनमा अमेरिका छाड्ने कुनै चाहना थिएन । आइन्सटाइनले राष्ट्रपति बन्ने विषयमा सर्वप्रथम आब्ब इबनबाट जानकारी पाए । इजरायलका प्रधानमन्त्री बेन गुरियनले प्रिन्सटनका भौतिकशास्त्री आइन्सटाइनसँग भेट्न अमेरिकाका लागि इजरायलका राजदूत इबनलाई निर्देशन दिएका थिए । जुन भेट अस्वीकृत गरियो ।
डा. वेन्सटिनले यसमा प्रकाश पार्दै भनेकी छन्, “सैद्धान्तिक रूपमा आइन्सटाइने आफूलाई राजनीतिक पदको मूल प्रकृति जसमा मूलतः सम्झौता, सार्वजनिक नाट्य मञ्चन र राज्यद्वारा गरिने कार्यमा मौन समर्थन आवश्यक हुन्छ, बाट आफूलाई परै राखेका थिए । यस्ता कार्यको उनी विरोध त गर्न सक्थे तर परिवर्तन गर्न शक्तिहीनताले गर्दा असमर्थ हुन्थे ।”
आइन्सटाइनले प्रस्ताव अस्वीकार गर्नको कारणलाई डा. वेन्सटिनले थप यसरी प्रस्ट्याइन्, सामाजिक बेढङ्गीपनसम्बन्धी जागरुकता नभएर तथा राजनीतिक चातुर्यको कमीले उनी पछाडि हटे ।
नोभेम्बर १७ मा जारी गरिएको पत्रमा इबनले औपचारिक रूपमा आइन्सटाइनलाई राष्ट्रपति पदका लागि प्रस्ताव गरेपछि दबाब धेरै नै बढ्यो । अन्ततः आइन्सटाइनको मन पग्लियो र भेटका लागि सहमत भए । उनलाई महसुस भयो यस्तो महìवपूर्ण आग्रहलाई यत्तिकै नाइँ भन्नु हुँदैन । अनि भोलिपल्ट आइन्सटाइनले न्युयोर्कमा नेभनसँग भेट गरे ।
नेभनले परिसंवाद कार्यक्रममा भनेका थिए, “आइन्सटाइनले आफ्नो विचार परिवर्तन गरे किनभने त्यस पदका लागि आफूलाई प्रस्ताव गर्नेहरूको मन उनी दुखाउन चाहँदैनथे । मलाई लाग्छ त्यस प्रस्तावले उनलाई कुनै खुसी वा गर्व भएन, बरु दुःख भयो ।”
आइन्सटाइन आफ्नो विचारमा अडिग रहे तर प्रतिउत्तरमा लचिलो भए । नोभेम्बर १८ मा उनले बेन गुरियनलाई एक औपचारिक र निकै कूटनीतिक जवाफ फर्काउँदै उल्लेख गरे, “हाम्रो देश इजरायलद्वारा गरिएको प्रस्तावबाट म धेरै नै प्रभावित भएको छु तथा साथै दुःखी र लज्जित पनि छु, म यसलाई स्वीकार गर्न सक्दिनँ ।”
आइन्सटाइनले यसो पनि लेखे, “मैले मेरो सारा जीवन वस्तुनिष्ठ सामग्रीसँगै बितेको छ । यसर्थ जनतासँग रीतपूर्वक व्यवहार गर्न तथा आधिकारिक कार्यको अभ्यास गर्नका लागि मसँग स्वाभाविक गुण र अनुभवको कमी छ ।”
“उनले अस्वीकार गर्नुको मूल तात्पर्य यहीँ नै हो,” भन्दै डा. वेन्सटिनले अगाडि विचार राखिन्, “उनी विनम्रतापूर्वक भनिरहे उनको संसार भौतिकशास्त्र र सिद्धान्तले बनेको छ, राजनीति र जनतासँग जोडिएको छैन ।”
यस विषयमा छाया बेकरले यसरी प्रतिक्रिया दिएका छन्, “आफू सहमत नभएका कुरामा निर्णय लिन आइन्सटाइनलाई कठिन हुने गथ्र्यो । अमेरिकामा उनले कैयौँ विषयमा आफ्ना विचार राखे तथा सञ्चार माध्यममा उनका विचारलाई व्यापक रूपमा उद्धरणसमेत गरियो । आफ्ना विचारले प्रायः उनी समस्यामा पनि पर्दथे । बेन गुरियन यस्ता कुराबाट अवगत थिए र यसले उनलाई बेचैन बनाउँथ्यो ।”
अन्ततः राजनीतिक चातुर्य निकै भएका उम्मेदवार यित्ज्याक बेन–जवीलाई राष्ट्रपति पद प्रस्ताव गरियो । सन् १९५२ डिसेम्बर १० मा औपचारिक रूपमा उनलाई राष्ट्रपति निर्वाचित गरियो । सन् १९६३ मा मृत्यु हुनुपहिले बेन–जवी तीन कार्यकाल राष्ट्रपति भए ।
आइन्सटाइनले आफू राष्ट्रपति नहुने औपचारिक जानकारी दिएको दुई दिनपछि एक भोजमा उनको र इबनको भेट भयो । त्यस औपचारिक कार्यक्रममा इजरायलका राजदूत इबनले ध्यान दिए, कालो टाईसहित कोट पाइन्टमा सजिएका आइन्सटाइनले मोजा त लगाएकै थिएनन् ।
आइन्सटाइन आफ्नै शैलीमा बाँचिरहे । उनी विलक्षण थिए, कसैले उनलाई सनकी र अव्यवस्थित मानिस पनि भने तर उनले अरू मानिसद्वारा निर्धारित भूमिकामा आफूलाई कहिल्यै ढालेनन् र स्वाभाविक जीवन बिताए ।
उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित
–युवामञ्च