जनार्जन खत्री
सर्लाही, फागुन ४ गते । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक इन्जिनियर यादवको घर भने सिराहाको सुखीपुर नगरपालिका ६ वैशाखा हो ।
प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर मलङ्गवा फर्किएको पाइएको छ । “उहाँको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो २/३ बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,” सर्लाही प्रहरीका प्रमुख योगेन्द्रकुमार खड्काले भन्नुभयो, “घरबाट फर्किए लगत्तै घटना भएको देखिन्छ । यसबारेमा थप बुझ्ने काम हुँदै छ ।”
स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका हुन् । यादवको छातीमा गोली प्रहार भएको छ ।
घटनास्थलबाट गोलीको एक थान खोका बराबद भएको एसपी खड्काले बताउनुभयो । सानो हतियार (पेस्तोल) बाट गोली प्रहार भएको जस्तो देखिने एसपी खड्काले जानकारी दिनुभयो ।
गोली प्रहारपछि कोठा गरेर बसेको घरको बरण्डामा ढलेका इन्जिनियर यादवलाई एसपी खड्कासहितको प्रहरी टोली पुगेर प्रादेशिक अस्पताल मलङ्गवा लगेको थियो । उहाँको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै रहेको छ ।
इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् । “उहाँमाथि कार्यालयकै कुनै विषय वा पारिवारिक के कारणले गोली प्रहार हो भन्ने खुल्न सकेको छैन्,” एसपी खड्काले भन्नुभयो, “अब आज (सोमबार) उहाँको श्रीमती र परिवारसँग कुराकानी गरेपछि थप विषय खुल्दै जाला ।”
इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आउनुभएको थियो । आइतबार बेलुका इन्जिनियर यादवमाथि गोली प्रहार हुनासाथ मलङ्गवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभरजसो अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले बताउनुभयो ।
मलङ्गवाबाट नेपाल–भारत सीमा (बोर्डर) नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीले अब आज (सोमबार) घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।