बैतडी समाचारदाता
बैतडी, असोज २० गते । पाटन नयाँ सहर आयोजना १४ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । आयोजनाको मुख्य काम ल्यान्डपुलिङ (जग्गा एकीकरण) कै टुङ्गो लागेको छैन त्यसले गर्दा आयोजना पूरा हुने नहुने विषय अन्योल देखिएको छ ।
२०६८ सालदेखि सुरु भएको आयोजनाले ल्यान्डपुलिङको विवाद थाती राखेर निर्माण गरेका संरचना उपयोगविहीन बनेको छ । आयोजनाले निर्माण गरेको बसपार्क, हीरापुर मनोरञ्जन पार्क, सडक र खुला मञ्च जस्ता संरचनासमेत प्रयोगविहीन भएका छन् । नयाँ सहर आयोजनाको आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेर कर्मचारी व्यवस्थापन भए पनि आयोजना भने सुस्त बनेको छ ।
आयोजनाले पाटनमा हालसम्म ५० करोड रुपियाँभन्दा बढीका संरचना निर्माण गरेको छ । यद्यपि ती संरचना उपयोगमा नआउँदै जीर्ण हुने अवस्थामा पुगेका छन् । हीरापुर मनोरञ्जन पार्कको र बसपार्क उपयोगमा नआउँदै जीर्ण बनेका छन् । यो वर्ष बसपार्क रङरोगन गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने आयोजनाका निमित्त प्रमुख रुद्रनारायण दासले बताउनुभयो ।
जग्गा एकीकरण (ल्यान्डपुलिङ) का लागि पाटन नगरपालिका–६, का स्थानीयसँग पटक पटक छलफल गरे पनि विवादको टुङ्गो लगाउन नसक्दा आयोजना अघि बढाउन ढिलाइ भएको उहाँले बताउनुभयो । जग्गा विवाद मिलाउन प्रयास गरे पनि नसकिएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो ।
उहाँले पाटन नयाँ सहर आयोजनाले व्यवस्थित बसोबासका लागि बाटो, उद्यान जस्ता संरचना तयार गरेर स्थानीयलाई नै घडेरीकै रूपमा जग्गा हस्तान्तरण गरिने बताए पनि जग्गा एकीकरणको टुङ्गो लाग्न नसकेको बताउनुभयो ।
पहाडको बसाइँसराइ रोक्ने उद्देश्यले अघि बढेको नयाँ सहरमा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । सरकारले पाँचथरदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहरको योजना अघि सारे पनि बैतडीको पाटनमा भने सन्तोषजनक काम नभएको स्थानीय केशव खत्रीले बताउनुभयो ।
करोडौँका संरचना प्रयोगविहीन
नयाँ सहर आयोजनाले आर्थिक वर्ष २०७१/७२ देखि निर्माण सुरु गरेको बसपार्क ११ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । ढिलासुस्तीले रुष्ट बनेका पाटनवासीले यो वर्ष धान दिवसका दिन बसपार्कमा रोपाइँसमेत गरेका छन् । त्यसै गरेर दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरेको हीरापुर मनोरञ्जन पार्क पनि सञ्चालनमा आउन सकेको छैन । बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावनमार्ग र टर्मिनल भवन बनाएको छ तर हवाई उडान नहुँदा संरचना प्रयोगविहीन बनेको छ ।