अर्जुन काफ्ले
स्याङ्जा, असोज २० गते । जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गते फरार रहेका कैदीहरूलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
प्रहरीले वालिङ नगरपालिका –९ का ३५ वर्षीय मदन माझी र बिरुवा गाउँपालिका –६ का १९ वर्षीय नाम नखुलाइएकोलाई पक्राउ गरेको हो ।
‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र एक जना बाल सुधारगृह पोखराबाट फरार भएका थिए ।
फरार व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताउँदै प्रहरी निरीक्षक तिवारीले प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीय सहयोगकै कारण पक्राउ सम्भव भएको बताउनुभयो ।
प्रहरीले यसअघि काठमाडौं केन्द्रीय कारागारका फरार दुई जना, तनहुँ दमौली कारागारका एकजना र कास्की कारागारबाट फरार भएका तीनजना कैदीलाई पक्राउ गरेको छ ।