धनगढी समाचारदाता
धनगढी, असोज २० गते । उत्तरी ध्रुवबाट हजारौँ किलोमिटर उडेर हरेक वर्ष भारततर्फ जाने कर्याङकुरुङ सारस नेपाली आकाशमा देखा पर्न थालेका छन् ।
जाडो छल्न यो प्रजातिका चरा उत्तरी चीन, मङ्गोलिया, साइबेरियाबाट नेपाली आकाश हुँदै भारततर्फ जान थालेका हुन् । कैलाली, कञ्चनपुर र बर्दियाको आकाशमा गइरहेका यी चरा भारतको राजस्थान र गुजरातमा छ महिनासम्म बिताउने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।
कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका कृष्ण चौधरीका अनुसार दसैँको बेलादेखि कर्याङकुरुङ सारस आकाशमा देखापरिरहेका छन् । हजारौँको सङ्ख्यामा ती चरा आकाशमा उड्दै दक्षिणतर्फ जानेक्रम जारी रहेको उहाँको भनाइ छ ।
कर्याङकुरुङ निकै माथि आकाशमा उडे पनि चर्को रूपमा ‘कर्याङकुरुङ’ आवाज निकाल्ने गरेकाले सजिलै थाहा पाउन सकिन्छ । यो प्रजातिका चरा प्रायः अङ्ग्रेजी अक्षर भी जस्तो आकार बनाएर आकाशमा उड्ने गर्दछन् । बथानको नेतृत्व गर्दै सबैभन्दा अगाडि उडिरहेको कर्याङकुरुङ थाकेमा अर्कोले पालो लिएर बथान नेतृत्व गर्दै उड्ने र बाँकीले पछ्याउँदै उड्ने गरेको पाइन्छ ।
कर्याङकुरुङ सारस प्रत्येक वर्ष असोज, कात्तिकमा नेपालको आकाश हुँदै भारततर्फ बसाइँ सर्ने गरेको चराविद् हिरुलाल डङ्गौराको भनाइ छ । उहाँका अनुसार सेप्टेम्बर १ देखि १७ सम्म यो प्रजातिको सारस बसाइँ सर्ने खास समय हो । यद्यपि यो वर्ष सेप्टेम्बर २४ मा पहिलो पटक नेपाली आकाशमा कर्याङकुरुङ देखा परेको डङ्गौराको भनाइ छ ।
कर्णाली कोरिडोर हुँदै आएका कर्याङकुरुङ कैलालीसहित कञ्चनपुर, बर्दियामा कहिलेकाहीँ बसेर आराम पनि गर्ने गरेको जनाइएको छ ।
माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई रुटबाट यो प्रजातिका चरा नेपालमा प्रवेश गर्ने गरेको जनाइएको छ । चराविद् डङ्गौराका अनुसार माथिल्लो मुस्ताङ हुँदै आएका कर्याङकुरुङ सारस भेरी नदी कोरिडोर र डोल्पा रुट हुँदै आएका कर्याङकुरुङ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेका छन् ।
भारत जाने क्रममा कर्याङकुरुङ सारसले करिब ४० दिनसम्म चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको जनाइएको छ । त्यस्तै उत्तरी ध्रुवतर्फ फर्कने कर्याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेको जनाइएको छ । भारतमा छ महिना बिताएपछि पाकिस्तान, किर्गिस्तान, अफगानिस्तानलगायत देश हुँदै यी चरा रसिया, मङ्गोलिया, उत्तरी चीनतर्फ पुनः फर्कने गरेको जनाइएको छ । फर्कने क्रममा यिनीहरूको यात्रा ६५ देखि ६६ दिनसम्म हुने गरेको चराविद्को भनाइ छ ।