• २० असोज २०८२, सोमबार

जीर्ण भवनबाट सेवा दिँदै प्रहरी

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज २० गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा स्थापना भएको इलाका प्रहरी चौकी सुनखानी जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । अन्य विकल्प नभएका कारण जीर्ण भवनबाट सेवा दिन प्रहरी बाध्य छन् । ३५ वर्ष पुरानो जीर्ण भवनबाट सेवा दिनुपरिरहेको इलाका प्रहरी चौकी सुनखानीका इन्चार्ज प्रहरी नायब निरीक्षक नरबहादुर चन्दले बताउनुभयो । कुनै बस्ती नभएको ठाउँमा रहेको सो प्रहरी कार्यालयमा बस्नु बाध्यता भएको उहाँले बताउनुभयो । 

उहाँले जस्तापाताले छाएको र पुरानो भएका कारण बर्खामा पानी चुहिने गरेको तर बाध्य भएर त्यही बस्नु परेको बताउनुभयो । भवनका झ्यालढोका फुटेकाले प्रहरीले काठले टालेर काम चलाउँदै आएको छ । लिमी आफैँमा बसोबासका हिसाबले कम जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ खासै घटना हुँदैन । हालसम्म लिमीवासीका तर्फबाट एउटा पनि उजुरी नपरेको उहाँले बताउनुभयो । 

प्रहरी चौकीबाट नजिकको गाउँ हल्जी पुग्न डेढ घण्टा लाग्छ भने जाङगाउँ पुग्न पनि उति नै समय लाग्ने गर्छ । उहाँले यस्तो अपायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना गर्नु नै गलत भएको बताउनुभयो । बास्तवमा सीमा सुरक्षा र अन्य दृष्टिकोणले सो प्रहरी चौकी तााक्ची वा तुम्लिङमा स्थापना गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले २३ जना दरबन्दी भए पनि हाल सो इलाका प्रहरी चौकीमा १४ जना प्रहरी मात्र रहेको बताउनुभयो । 

अन्य क्षेत्र प्राथमिकतामा पर्ने भए पनि प्रहरीका भौतिक संरचना कहिल्यै प्राथमिकतामा नपर्ने भएका कारण दुःख र कष्ट खेपेर प्रहरीले सेवा दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उक्त प्रहरी चौकीमा जेठदेखि कात्तिक १५ सम्म प्रहरीले सेवा दिने गरेपछि त्यसपछिको बाँकी समय प्रहरी जिल्लामा आएर बस्ने गरेको उहाँले बताउनुभयो ।