नेत्र शाही
जुम्ला, असोज २० गते । सुन्दा अनौठो लाग्ने जुम्लाको एक विद्यालय गाउँको राजनीतिक प्रभावको विवादमा परेपछि दुई ठाउँमा विभाजन भएको थियो । त्यसले गर्दा लामो समय विद्यालयको पढाइसमेत प्रभावित भयो तर हाल सो विद्यालय एकै थालोमा आएर पठनपाठन व्यवस्थित गरिएको छ ।
जुम्लाको हिमा गाउँपालिका–५, रूपाकोट आधारभूत विद्यालय बाजागाडामा विद्यालयलाई लिएर कांग्रेस र कम्युनिस्टबिच विवाद हुँदा २०७१/७२ सालमा दुई ठाउँमा विद्यालय सञ्चालन भएको थियो । एउटा बाजागाडमा सञ्चालन भयो भने अर्को विद्यालय चाखाडाँडामा सञ्चालन भयो । विवादलाई लिएर विद्यालयका अभिभावक विभाजित भएपछि बालबालिका पनि विभाजित भएर अलग अलग ठाउँमा पढ्न थालेका थिए ।
विद्यालय फुटाएपछि विद्यालयमा रहेका तीन जना दरबन्दीका शिक्षक, एक जना निजी शिक्षक र कार्यालय सहयोगी पनि बाडिए । उहाँहरू बिहान १० देखि दिउँसो १ बजेसम्म एउटा स्कुलमा र १ देखि ४ बजेसम्म अर्को स्कुलमा काम गर्न थाले । स्थानीय सरकार आएपछि विद्यालयको विवादका विषयमा पटक पटक छलफल भयो तर समाधान निस्केन । २०७६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे गाउँमै गएर विवाद समाधान गर्ने प्रयास गर्नुभएको थियो तर उहाँको प्रयास पनि काम लागेन । २०७६ साउन १० गते शान्तिकुमारी शाही प्रधानाध्यापक भएपछि विवाद मिलाउन प्रयास थाल्नुभएको थियो ।
उहाँको प्रयास पनि सफल भएन तर उहाँले भौतिक संरचना बनाउनुभयो । पढाइलेखाइमा सुधार ल्याउनुभयो । २०७९ सालमा व्यवस्थापन समितिको तत्कालीन अध्यक्ष नरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले डाँडाचाखामा एकीकृत रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय ग¥यो । सो निर्णयपछि शिक्षक अर्को विद्यालय नगएपछि विद्यार्थी एक ठाउँमा पढ्न आउन थालेकाले अलग अलग भएको विद्यालय एक ठाउँमा आएको व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रावतले बताउनुभयो ।
यस पटक दसैँअघि विद्यालयमा अभिभावक भेलामा सबै भेला भएपछि अलग अलग रहेको विद्यालय एक भएको महसुस भएको उहाँले बताउनुभयो । स्थानीय विकास रोकायाले गाउँका मानिस मिलेर एकै स्थानमा खाजा खाएर अब आइन्दा झगडा गरेर विद्यालय जस्तो पवित्र संस्थालाई विभाजन नगर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।
यस पटक नयाँ व्यवस्थान समिति पनि चयन गरिएको छ । अभिभावकले चिट्ठा प्रणालीबाट सौरे रोकायाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेका हुन् ।