भैरहवा समाचारदाता
भैरहवा, असोज २० गते । भारतको वृन्दावन यात्रा सकेर फर्किएका करिब दुई हजार तीर्थयात्रीमध्ये पाँच सयभन्दा बढी भैरहवामै रोकिएका छन् । नेपालका पूर्वी क्षेत्र र काठमाडौँ आसपास वर्षा भइरहेका कारण सरकारले पूर्वसावधानी अपनाउँदै यातायातका साधन रोकेपछि ती तीर्थयात्री भैरहवामै अलपत्र परेका हुन् ।
शनिबार करिब दुई हजार तीर्थयात्री बेलहिया नाका हुँदै भैरहवा प्रवेश गरेका थिए । भैरहवाका धर्मशाला, मन्दिर र होटेलमा उनीहरूका लागि अस्थायी बास व्यवस्थापन गरिएको थियो ।
आइतबार बिहान यातायात केही सहज भएपछि करिब एक हजार पाँच सय तीर्थयात्री पूर्वी तराईका गन्तव्यतर्फ हिँडेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, पनौती, काभ्रे, धादिङलगायत जिल्लाका तीर्थयात्री अझै भैरहवामै प्रतीक्षा गरिरहेका छन् ।
इस्कान नेपाल बुटवलका करणधर दासका अनुसार अहिले यातायात अवरुद्ध भएकाले केही तीर्थयात्री भैरहवामै रोकिएका छन् । रोकिएका तीर्थयात्रीले भैरहवाको गल्लामण्डीस्थित श्री रामजानकी हनुमान मन्दिरमा आश्रय लिएका छन् । दासले मन्दिरमा इस्कान नेपालको कार्यक्रम भइरहेकाले स्थिति व्यवस्थापनमा सहज भएको बताउनुभयो ।
काठमाडौँलगायत आसपासका जिल्ला जाने यात्रु भैरहवामै प्रतीक्षा गर्नुको विकल्प नरहेको तीर्थयात्री हरिराम पौडेलले बताउनुभयो । उहाँले यात्राको सबै प्रवन्ध इस्कान नेपालले नै गरेको हुँदा यातायात खुलेपछि गन्तव्यसम्म इस्कानले नै पु¥याउने जानकारी दिनुभयो ।
भैरहवामा एकै पटक करिब दुई हजार तीर्थयात्री आउँदा यहाँका धर्मशाला, मारवाडी सेवा समिति, कान्दु धर्मशाला, जयसवाल धर्मशाला र साना होटेल भरिभराउ भएका छन् ।
तीर्थयात्रीका लागि खाना, पूजापाठ, चियानास्ता, बास र शौचालयको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीको समन्वयमा मन्दिर व्यवस्थापन समितिले गरेको छ । समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले भन्नुभयो, “यो हाम्रा लागि सेवा गर्ने अवसर हो । कुनै कमी हुन दिएका छैनौँ ।”
रुपन्देही तथा आसपासका जिल्लामा अविरल वर्षा नभए पनि पूर्वी क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस कारणले पनि पूर्वी जिल्लाका तीर्थयात्री भैरहवामा रोकिएका छन् ।