बागलुङ समाचारदाता
बागलुङ, असोज २० गते । पश्चिम बागलुङको गलकोट नगरपालिका–३, हटिया र हरिचौर जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । आउजाउ गर्न कठिनाइ भएपछि साँघुरो साँघु स्थानीयले श्रमदान गरेर बनाएका हुन् ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले स्थानीयका आवश्यकता धेरै भए पनि कतिपय आवश्यकता पूरा गर्न नसकिएको बताउनुभयो । यसअघि नगरपालिकाले झोलुङ्गे पुल बाढीले बगाएपछि कतिपय खोलाखोल्सामा कल्भर्ट निर्माणको अवधारणा पनि अघि सारेको छ । कल्भर्टले सवारीसाधन र स्थानीयलाई आउजाउमा सहज भएको छ । पक्की पुल बनाउन धेरै निकायमा धाए पनि सफल नभएपछि गलकोटले साना सवारीसाधन चल्न सक्ने कल्भर्ट बनाउने अभियान चालेको छ ।
कल्भर्ट संरक्षणका लागि नगरपालिकाले ग्याबिन जाली लगाउन लगानी गरेको छ । भण्डारीले भन्नुभयो, “थोरै लगानीमा बन्ने कल्भर्टले ग्रामीण क्षेत्रका नागरिकलाई आवातजावतमा सहज भएको छ ।”