• ७ वैशाख २०८१, शुक्रबार

हाम्रो पात्रोले सुरु गर्‍यो ई–लर्निङ् प्लेटफर्म

blog

हाम्रो पात्रोका सिइओ शंकर उप्रेती र डियरवाक स्कुलका अध्यक्ष हितेश कार्की समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा । तस्बिर : हाम्रो पात्रो

काठमाडौं, असार १६ गते । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको जानकारी इन कर्पोरेसनका संस्थापक एवम् प्रमुख कार्यकारी निर्देशक (सिइओ) शङ्कर उप्रेतीले दिनुभयो । 

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरूले गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको छ । समयमा पाठ्यपुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ । 

प्रायः विद्यालयमा दक्ष शिक्षकको कमी आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बिचको दूरी हाम्रो लर्निङ सेन्टरले कम गर्ने विश्वास कार्यकारी निर्देशक उप्रेतीको छ । 

उहाँले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आम मानिसको पहुँचमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताउनुभएको छ ।

बुधबार समारोहका बिचमा हाम्रो पात्रोका सिइओ शङ्कर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बीचमा सहकार्यका लागि एक समझदारी पत्रमा हस्ताक्षर भयो । 

उक्त कार्यक्रममा हितेश कार्कीले हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आशा राखेको बताउनुभयो । 

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पाराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ । साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयानुकूल रूपमा थप्दै आएको छ ।