• २० असोज २०८२, सोमबार

रोकिएका सवारीसाधन गन्तव्यमा पठाइयो

blog

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलाको पहिरो पन्छाए पछि सञ्चालित सवारीसाधन । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता  

चितवन, असोज २० गते  । वर्षाले जोखिम भएको भन्दै चितवन प्रशासनले जिल्लामा शनिबारदेखि रोकिएका सवारीसाधन आइतबार गन्तव्यमा पठाएको छ । 

राजधानी काठमाडौँसहित पूर्वपश्चिम चल्ने सबै सवारीसाधन शनिबार साँझ ६ बजेदेखि सञ्चालनमा रोक लगाएको थियो । मौसममा सुधार र अवरुद्ध सडक सञ्चालनमा आएपछि रोकिएका सबै सवारीसाधन गन्तव्यमा पठाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । 

राजधानी जाने मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पहिरो पन्छाएपछि सबै सवारीसाधन सञ्चालनमा आएका छन् । आइतबार बिहानदेखि पहिरो पन्छाएपछि बिहान ८ बजेबाट सवारीसाधन सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “हामीले औपचारिक रूपमा सवारीसाधन सञ्चालनमा ल्याएका छैनौँ । रोकिएका र आपत्कालीन सवारीसाधन मात्र सञ्चालन गरेका छौँ ।” अहिले नारायणगढ–मुग्लिङ सवारीसाधन सञ्चालनमा समस्या नभएको प्रजिअ अर्यालको भनाइ छ ।  

अर्यालका अनुसार मुग्लिङदेखि काठमाडौँ जाने बाटोमा पहिरो खसेकाले खुलाउने काम भइराखेको छ । मुग्लिङदेखि मलेखु र मलेखुदेखि नागढुङ्गासम्मको विभिन्न स्थानमा पहिरो गएकाले पन्छाउने काम भइराखेको प्रजिअ अर्यालले बताउनुभयो । पूर्ण रूपमा सडक सञ्चालन नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने उहाँले बताउनुभयो । अत्यावश्यक सवारीसाधन र रोकिएका साधनलाई मात्र सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । 

चितवनमा रोकिएका सवारीसाधनलाई पूर्व र पश्चिम जान दिइएको छ । आइतबार बिहानबाट सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । पूर्वमा कोशीवारीसम्मका 

सवारीसाधन सञ्चालनमा रहेको उहाँको भनाइ छ । सवारीसाधन रोकेर सम्भावित जोखिमलाइ टार्न सकिएको उहाँले बताउनुभयो । 

हवाईयात्रा नभएपछि बस 

राजमार्ग बन्द भएपछि भरतपुरबाट राजधानी जाने यात्रुको चाप हवाईमार्गमा परेको छ । यात्रुको अत्यधिक चाप भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरेको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई आइतबार बसमार्फत काठमाडौँ पठाइएको छ । 

शनिबार हवाईसेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आइतबारका लागि टिकट लिएका यात्रु विमानस्थल पुग्दा भिड बढेको थियो । यात्रुको चापका कारण विमानस्थल अस्तव्यस्त भएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाउनुभएको हो । 

यातायात व्यवसायीले माइव्रmोबस र अन्य सार्वजनिक सवारीसाधनबाट यात्रु लिएर गन्तव्यमा गएका छन् । यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उहाँले जानकारी दिनुभयो । बस जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उहाँले जानकारी दिनुभयो ।