म्याड्रिड, असोज २० गते । स्पेनी लिगमा रियल म्याड्रिड शनिबार राति तेस्रो स्थानमा रहेको भियारियललाई ३–१ ले हराएर शीर्ष स्थानमा उक्लन सफल भएको छ । सो खेलमा ब्राजिलियाली स्ट्राइकर भिनिसियस जुनियरले दुई तथा किलियन एमबापेले एक गोल गर्नुभयो ।
खेलको ८१ औँ मिनेटमा गोल गरेपछि एमबापेको गोलीगाँठोमा चोट लागेको थियो । त्यसपछि उहाँले आफूले खेल्न नसक्ने भन्दै सङ्केत गरेका थिए । रियल म्याड्रिडले दुई अङ्कले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई पछाडि पारेको हो । यद्यपि बार्सिलोनाले सेभियालाई हराएर पुनः शीर्ष स्थान कब्जा गर्न सक्ने छ । सो खेलमा घाइते स्टार लामिने यमालको सहभागिता रहने छैन ।
यसअघि खेलको ४७ औँ मिनेटमा भिनिसियसले गोल गरी रियल म्याड्रिडलाई अगाडि पार्नुभएको थियो । खेलको ६९ औँ मिनेटमा पेनाल्टीमा भिनिसियसले अर्को गोल गर्नुभयो । भियारिलका लागि जर्ज मिकाउटाजेले करिब २० गजबाट सिधै गोल गरेर एक गोल फर्काउनुभएको थियो । अन्य खेलमा गिरोनाले भ्यालेन्सिया तथा एथ्लेटिको बिल्बाओलाई समान २–१ त्था तथा लेभान्टेले ओभिएडोलाई २–० ले हराए ।
लिभरपुलको लगातार तेस्रो हार
लन्डन । प्रिमियर लिगमा चेल्सीले शनिबार राति गत विजेता लिभरपुललाई २–१ ले हराएको छ । इन्जुरी समयमा ब्राजिलका युवा खेलाडी इस्टभाओले गोल गरेपछि लिभरपुल स्तब्ध भयो । गत हप्ता क्रिस्टल प्यालेसले पनि अन्तिम समयमा गोल गरी लिभरपुललाई हराएको थियो ।
यसै गरी गत हप्ता नै च्याम्पियन्स लिगमा टर्कीको गालाटसारेले पनि लिभरपुललाई पराजित गरेको थियो ।
मोइसेस काइसेडेले लामो दुरीबाट सशक्त प्रहारमार्फत गरेको गोलबाट घरेलु टिम चेल्सीले अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा कोडी गाक्पोले बराबरी गोल गर्नुभयो तर १८ वर्षीय स्ट्राइकरले इन्जुरी समयमा गरेको गोलबाट लिभरपुल हिस्स बन्यो । लिभरपुलको अर्को हारसँगै आर्सनल एक अङ्कको अग्रतासहित अग्रस्थानमा उक्लेको छ । आर्सनलका लागि डेक्लान राइस र बुकायो साकाले गोल गर्नुभयो ।
म्यान्चेस्टर युनाइटेडले पनि सन्डरल्यान्डलाई २–० ले हराउन सफल भयो । म्यान्चेस्टर युनाइटेडका लागि मासन माउन्ट र बेन्जामिन सेस्कोले गोल गर्नुभयो । अर्को खेलमा टोटेनहाम हस्परले लिडेसलाई २–१ ले हरायो । यस जितसँगै टोटेनहाम तेस्रो स्थानमा उक्लेको छ ।
इन्टर मिलान संयुक्त रूपमा शीर्षमा
मिलान । सिरी एमा इन्टर मिलानले शनिबार राति अपराजित क्रिमोनिजलाई ४–१ ले हराएको छ । यस नतिजासँगै इन्टर मिलानले शीर्ष स्थानमा रहेका गत विजेता नापोली र रोमाको बराबरी गरेको छ । इन्टर मिलानको सबैखाले प्रतियोगितामा यो लगातार पाँचौँ जित हो ।
अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले खेलको छैटौँ मिनेटमै पहिलो गोल गर्नुभयो । यस गोलसँगै लाउटारो इन्टर मिलानका लागि सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौँ स्थानमा उक्लनुभएको छ । लाउटारोले इन्टर मिलानको जर्सीमा १५८ गोल गर्नुभएको छ । इन्टर मिलानका लागि एनगे–योआन बोनी, फेडरिको डिमार्को र निकोलो बरेलाले पनि गोल गर्नुभयो । क्रोमोजिका लागि जेमी भर्डीले एक गोल फर्काउनुभयो । गत हप्ता नवप्रवेशी क्रोमोनिजले एसी मिलानलाई स्तब्ध पारेको थियो । एपी