गोरखापत्र समाचारदाता
भक्तपुर, असोज २० गते । विराट् नेपाल भाषा साहित्य सम्मेलन गुथीले ६४ औँ विराट् नेपाल भाषा साहित्य सम्मेलन राममन्दिर भक्तपुरमा सम्पन्न गरेको छ । प्रत्येक वर्ष द्वादशीका दिन आयोजना हुने साहित्यिक कार्यक्रममा विराट् पूर्ण वैद्य सिरपाः मोतीलक्ष्मी शाक्यलाई एक लाख रुपियाँसहित प्राडा चुन्दा वज्राचार्यले प्रदान गर्नुभयो ।
त्यसै गरी श्याम आशाको ‘म्हुचिंगु ल्हाः’ (मुठी कसिएको हात) लघुकथासङ्ग्रह र शिक्षाविद्, बौद्ध विद्वान्, साहित्यकार स्व. त्रिरत्न शाक्य स्मृति ग्रन्थ प्राडा वज्राचार्य, गुथीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, पुरस्कृत व्यक्तित्व शाक्य, विराट् पूर्ण वैद्य सिरपाःका दाता मिरा शाक्य वैद्यलगायतले सामूहिक रूपमा विमोचन गर्नुभयो । पञ्चायतकालदेखि नै जब भाषिक दमन हुन थाल्छ तब विराट् गुथीले सम्पूर्ण नेवार जातिको हकअधिकारका लागि सक्रिय भूमिका खेल्दै आएको प्राडा वज्राचार्यले स्मरण गर्नुभयो ।
उपत्यकाका करिब २० साहित्यकारले साहित्यिक प्रतियोगितामा भाग लिनुका साथै वरिष्ठ गायक सत्यनारायण मानन्धर, हरिसुन्दर लाखे र प्रदीप शाक्यले साङ्गीतिक प्रस्तुत गर्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने साहित्यकारलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरियो । प्रत्येक वर्षमा झैँ एसइईमा नेपाल भाषा विषय लिई उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने पुरस्कार जगतसुन्दर ब्वनेकुथीका फिदा खातुनलाई दिइने भएको छ । सो अवसरमा अध्यक्ष कर्माचार्यले प्राप्त भइसकेको अधिकारलाई परिवर्तनका नाममा कटौती नगराउन विराट् गुथीले खबरदारी गर्दै आइरहेको बताउनुभयो ।