• २० असोज २०८२, सोमबार

वर्षाले धान नासिँदा मर्कामा किसान

blog

वर्षाले क्षति पु¥याएको धान देखाउनुहुँदै गुलरियाका कृषक प्रवेज यादव । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), असोज २० गते । विजया दशमीको टीका सकेर अन्नबाली भित्र्याउने तयारीमा रहेका बर्दियाका कृषकलाई पछिल्लो वर्षाले समस्यामा पारेको छ । गत मङ्गलबार बिहान आएको हावाहुरीसहितको पानीले धान बालीमा ठुलो क्षति पु¥याएको हो ।

गुलरिया नगरपालिका–७, चौगजीका कृषक प्रवेज यादवले भन्नुभयो, “दसैँ सकेर धान काट्ने तयारी गर्दै गरेका थियौँ, तर अष्टमीको दिन परेको पानीले धानमा ठुलो क्षति पुगेको छ । अहिले खेतमा पानी भरिएको छ र धान कुहिन थालेको छ ।”

मौसमको भारी प्रभावले गुलरिया, मधुवन, बढैयाताल गाउँपालिका, राजापुर, बारबर्दिया, ठाकुरबाबा, बासगढी र गेरुवा गाउँपालिकाका कृषकको धानमा पनि क्षति पुगेको छ । विशेष गरी अग्लो र पाकेको धान बढी मात्रामा ढलेको देखिएको छ । मधुवन नगरपालिका–२, रजवाराका कृषक सन्तोष बस्यालले भन्नुभयो, “कहिले कृषक रासायनिक मल नपाएर हैरान हुन्छन् त कहिले पाकेको धान स्याहार्न नपाएर । यस पटक मौसमले नै कृषकलाई धेरै दुःख दिएको छ ।”

बिदा र मौसमको अचानक परिवर्तनका कारण बर्दियामा कति हेक्टर धानमा क्षति पुगेको छ भन्ने तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीका अनुसार, कार्यालय खुल्नेबित्तिकै क्षतिको विवरण सङ्कलन गरिने छ । बर्दिया जिल्लामा करिब ५० हजार २५० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । यहाँ उत्पादन भएको धान मुख्य गरी नेपालगन्ज, सुर्खेत, बुटवल, चितवन र पोखरामा बिक्री हुँदै आएको छ ।