वसन्त पराजुली
नारायणगढ, असोज २० गते । वर्षापछिको बाढीपहिरोका कारण स्थलमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई चितवनका होटेल व्यवसायीले होटेलको बसाइमा ७५ प्रतिशतसम्म छुट दिएका छन् । बाढीपहिरोका कारण सडक अवरुद्ध भएको पहिलो दिन शनिबार ९० जना यात्रुले यो सुविधा लिएका चितवन होटेल सङ्घका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो ।
“शनिबार साँझ हामीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखसँगको छलफलमा गरेको निर्णय अनुसार हामीले अलपत्र यात्रुलाई ७५ प्रतिशतसम्म छुट दिएर राखेका छौँ,” उहाँले भन्नुभयो । यो क्रम पानी परेमा र पहिरोले सडक अवरुद्ध भएमा आइतबार पनि जारी राख्ने उहाँले जनाउनुभयो ।
“सडक यात्राका क्रममा कुनै पनि समस्यामा परे होटेल सङ्घमा सम्पर्क गरेर आए हामी राख्छौँ,” उहाँले भन्नुभयो । कतिपय यात्रुलाई बसाइ मात्रै नभई खानामा समेत विशेष छुट दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चितवनका झन्डै तीन सय होटेलमा एक हजार पाँच सय जनासम्म राख्न सक्ने क्षमता छ ।
जिल्ला सुरक्षा समितिले शनिबार साँझ होटेल सङ्घलाई बोलाएर अलपत्र यात्रुको व्यवस्थापन गर्न अनुरोध गरेको थियो । सङ्घले चितवनका सौराहा, टाँडी, भरतपुर, मुग्लिङ र नारायणगढका होटेलमा अलपत्र यात्रुलाई आश्रय दिएको थियो । आइतबार होटेलले छुट सुविधा कायमै राखे पनि चितवनमा अलपत्र परेका यात्रु भने कम छन् । आइतबार दिनभरि जसो नै चितवनमा वर्षा नभएका कारण चितवन भएर जाने अलपत्र परेका सवारीसाधनलाई सुरक्षासाथ गन्तव्यतर्फ पठाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । चितवनमा नारायणगढ मुग्लिङ सडकको तुइन खोला र पृथ्वी राजमार्गको फिस्लिङको पहिरो पन्छाउँदै सवारीसाधन चलाउँदै गरेको उहाँलेजानकारी दिनुभयो ।
हवाई सेवामा भिड
सडक यात्रामा बढ्दो जोखिमका कारण हवाई यात्रामा चाप बढेको छ । भरतपुर विमानस्थलमा बुद्ध एयरले नियमित जस्तै सात उडान सञ्चालन गरेपछि यात्रुको चाप थेग्न नसकेर यात्रुवाहक सवारीसाधनलाई विमानस्थलमै लगेर यात्रुलाई काठमाडौँ पठाउने काम गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नियमितभन्दा बढी उडान थप्न नसकिने भएपछि यात्रुलाई सडकबाटै पठाउने काम गरिएको बताउनुभयो । विमानस्थलबाट तीन वटा गाडीले ३९ जना यात्रु लगेको आवश्यक परे थप गाडी पनि तयारी अवस्थामा राखिएको उहाँले जनाउनुभयो ।
शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप बढेको हो । भरतपुरमा बुद्ध एयरले सात वटा नियमित उडानमार्फत सेवा दिँदै आएको छ ।