• २० असोज २०८२, सोमबार

काँग्रेसका भ्रातृ संस्थाको अपील : उद्धार, राहत र पुनर्स्थापनामा जुटौं

blog

उद्धार र राहतमा संलग्न रहेको साङ्केतिक चित्र ।

काठमाडौँ, असोज २० गते । भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको पृष्ठभूमिमा नेपाली काँग्रेससँग आवद्ध भ्रातृ संस्थाहरूले उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा एकजुट भई जुट्ने अपील गरेका छन्। 

असोज १९ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको भ्रातृ संस्था अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठकले देशव्यापी एकता र सतर्कताको आह्वान गर्दै उक्त अपील जारी गरेको हो।

बैठकले विपद्को चुनौतीसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूलाई स्वयंसेवी समूहमार्फत सक्रिय रूपमा खटिने निर्णय गरेको छ। प्रभावित क्षेत्रहरूमा समन्वय, सहजीकरण र स्वयंसेवाको काम सुरु भइसकेको जनाउँदै, सबैलाई उच्च मानवीय भावनाका साथ सहयोगमा उत्रिन आग्रह गरिएको छ।

विशेष गरी कोशी र मधेस प्रदेशमा उच्च सतर्कता आवश्यक रहेको बैठकले जनाएको छ। इलाम, पाँचथर, रसुवा, उदयपुर, रौतहटलगायतका जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको प्रति बैठकले गहिरो दुःख प्रकट गर्दै मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै थप मानवीय क्षति हुन नदिन राज्यले अझ गम्भीर तदारुकता देखाउनुपर्नेमा जोड दिइएको छ।

अपीलमा वृद्ध, बिरामी, अपांग, बालबालिका, गर्भवती र सुत्केरी महिलाको सुरक्षा तथा सहजतालाई पहिलो प्राथमिकतामा राख्न सरकार र स्वयंसेवकहरूलाई आग्रह गरिएको छ। 

साथै सडक अवरोधका कारण बाटोमा अलपत्र परेका यात्रुहरूको तत्काल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यमा पुराउने, पहिरो र डुबानमा बेपत्ता नागरिकको खोजी तथा घाइतेको उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

बाढीपहिरोका कारण किसान र श्रमिकहरूले भोग्नुपरेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै खेतबारी र सम्पत्तिको क्षति विवरण संकलन गरी राहतको व्यवस्था गर्न माग गरिएको छ। विपत्तिको घडीमा सबै राजनीतिक वा वैचारिक मतभेदलाई थाती राखी उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सबै भ्रातृ संगठनका सदस्यहरूलाई पुनः आह्वान गरिएको छ।

संयुक्त अपीलमा सहभागी हुने संस्थाहरूका अध्यक्षहरूमा नेपाल महिला संघकी अध्यक्ष उषा राउत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी संघका बालकृष्ण दाहाल, नेपाल किसान महासंघका गणेशचन्द्र तिमल्सिना, नेपाल दलित संघका लोकबहादुर विश्वकर्मा छन् । यस्तै, नेपाल भूतपूर्व सैनिक संघका गर्जबहादुर गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपांग संघका माधवप्रसाद चम्लागाई, नेपाल मुस्लिम संघका अतावुल मन्सुरी, नेपाल थारु संघका शिवनारायण महतो गुरौं, नेपाल लोकतान्त्रिक खेलकुद संघका देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर संघका इच्छुराम रानामगर र नेपाल तामाङ संघका रामकृष्ण ‘इन्द्र’ लामा रहेका छन्।

अपीलको अन्त्यमा भनिएकाे छ, “यो विपत्तिको क्षणमा देश र नागरिकको सुरक्षाका लागि हातेमालो गरौं, एकताको भावनासहित उद्धार, राहत र पुनर्स्थापनामा जुटौं।”