बाजुरा समाचारदाता
बाजुरा, असोज २० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडामा उत्पादन भएको स्याउ गाईगोरुको आहारा बनको छ । किसानले करोडौँको लागतमा उत्पादन गरेको स्याउले बजार नपाएपछि गाईगोरुको आहारा बन्दै गएको हो ।
पर्यटकीय क्षेत्रनजिकै उत्पादन गरेको स्याउ बिक्रीका लागि बाटो र बजारको अभावले अहिले स्याउ टिपेर गाईगोरुलाई खुवाउनु परेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्याउ किसान वीरबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०७६ फागुनमा धौलछडानजिक रहेको १२० हेक्टर जमिनमा इटालीबाट हाइटेन्सी जातको छ हजार बोट स्याउ ल्याएर रोपेको थिएँ । रोपेकै वर्षमा त्यो स्याउ फल्न सुरु भयो तर बजार छैन ।”
एक करोड २० लाख रुपियाँ लगानी गरेर उत्पादन गरेको स्याउले बजार नपाउँदा अहिले गाईगोरुलाई खुवाउने गरेको रावलले बताउनुभयो । काँडामा रावलले उत्पादन गरेको स्याउ सुदूरपश्चिम प्रदेशका विभिन्न बजारमा झन्डै तीन महिनासम्म बिक्री गर्न पुग्ने थियो रावलको भनाइ छ ।
उसो त रावल खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष पनि हुनुहुन्छ । उहाँले केही वर्ष पहिला वडाको आर्थिक सहयोगमा झन्डै पाँच किलोमिटर सडक बनाएर गाँज्रादेखि वडा कार्यालयसम्म पु¥याउनुभएको थियो तर त्यो सडक पनि अविरल बर्सातका कारण अहिले बन्द छ । यता डाब खप्तड पर्यटकीय सडक पनि अलपत्र परेको छ । बाजुराको गौरवको योजना रहेको यो सडक विगत १६ वर्षदेखि अलपत्र पर्दै गएको छ ।
खप्तड छेडेदह गाउँपालिकाको काँडा फलफूल र तरकारी खेतीका लागि निकै उपयोगी ठाउँ हो । यहाँका किसान प्रायः सुन्तला, ओखर, आलु, मुला (चोतो) लगायतका थुप्रै फलफूल तथा तरकारी वस्तु उत्पादन गर्ने गर्छन् ।
बाजुरामा उतपादन हुने गरेका फलफूल तथा तरकारी वस्तु बजारसम्म पु¥याउनका लागि ढुवानीको व्यवस्था गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुराका हिमाली स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, खप्तड छेडेदहलगायतका विभिन्न ठाउँमा स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ ।
विगतका केही वर्षयता बाजुरामा उत्पादन भएको झन्डै छ सय मेट्रिक टन स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको प्रमुख साहनीले बताउनुभयो ।