बाबुराम कार्की
वराहक्षेत्र, असोज २० गते । यस वर्षको वर्षायाम सकिए पनि आरिघोप्टे वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ५७ वर्षयताकै तेस्रो उच्च बाढी मापन गरिएको छ ।
आइतबार दिउँसो ४ बजेको मापन अनुसार कोशी ब्यारेज नियन्त्रण कक्षले पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । यही रूपमा पानीको बहाव बढ्दै गए छ लाख क्युसेक प्रतिसेकेन्ड पुग्न सक्ने नियन्त्रण कक्षले जनाएको छ ।
शनिबार बिहानदेखि पहाडी क्षेत्रमा अविरल र भीषण वर्षा भएपछि सप्तकोशी नदीमा शनिबार साँझदेखि पानीको बहाव उच्च हुँदै आएको थियो । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
कोशीमा गत वर्ष असोज १२ गते पाँच लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । गत वर्ष सन् १९६८ यताकै दोस्रो पानीको बहाव उच्च मापन गरिएको थियो । यो वर्ष ५७ वर्षयताकै तेस्रो ठुलो पानीको बहाव मापन गरिएको सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरले जनाएको छ ।
नौ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेजका सबै ढोका खोलिएको र आवतजावतसमेत बन्द गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताउनुभयो । उहाँका अनुसार सन् १९६८ अक्टोबर ५ मा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो ।
आवश्यक तयारी पहिल्यै गरिएकाले कोशीमा पानीको जलसतह उच्च भए पनि यो समाचार तयार पार्दासम्म कोशीले पूर्वी स्परमा कुनै क्षति गरेको छैन । तटबन्धमा कुनै क्षति हुन नपाएको भूआर्जन अधिकृत सिटौलाले बताउनुभयो । उहाँका अनुसार पूर्वी तटबन्धको राजाबास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा छैन । कोशी नदीआसपास क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन आग्रह गरिएको छ । सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर,लिखु नदीको पानी मिसिएर सप्तकोशी नदी बनेको छ ।