राजकुमार भट्टराई
खोटाङ, असोज १९ गते । खोटाङमा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । जिल्लाको रावाबेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार २१ वर्षीय विश्वकर्मा रावाबेसी गाउँपालिका –६ हौँचुरस्थित मावलीघरमा दसैँको टीका लगाएर फर्किनेक्रममा खोलाले बगाएको हो ।
हौँचुर र कुभिण्डेको सिमानामा रहेको हौँचुर अर्थात लोचा खोलाले विश्वकर्मालाई असोज १८ गते साँझ बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । युवाको शव असोज १९ गते आइतबार बिहान करिब ९ बजेको समयममा भेटिएको उहाँको भनाइ छ ।
सँगै यात्रामा रहेका अन्य दुई जनाले सुमनलाई खोलाले बगाएको जानकारी दिएपछि असोज १८ गते रातिदेखि नै प्रहरी खोजीकार्यमाम खटिएको थियो । घटनास्थलमा खटिएको प्रहरी टोलीले सुमनलाई बगाएको ठाउँभन्दा केही तल मृत भेटाएको हो ।