जनार्जन खत्री
सर्लाही, असोज १९ गते। सर्लाहीको कौडेना गाउँपालिका–३, मा लखन्देही खोलाको बाढीले करिब १५० मिटर सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ।
भारी वर्षापछि आइतबार बिहानको बाढीले कालोपत्रेसहितको सडक बगाएपछि सदरमुकाम मलङ्गबादेखि पश्चिमी बेल्टमा पूर्वपश्चिम हुलाकी राजमार्गमा आवतजावत ठप्प भएको हो। सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले सडक मर्मतका लागि समन्वय भइरहेको जानकारी दिनुभयो।
सडक कटान भएपछि कौडेनासहित जिल्लाको पश्चिमी भेगमा पर्ने गोडेता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाको सदरमुकाम मलङ्गवासँग सडक सञ्जाल टुटेको छ। यी आधा दर्जन पालिकाका स्थानीय सदरमुकाम मलङ्गवा आउजाउ गर्नुपर्दा पूर्वपश्चिम राजमार्ग निस्किएर वा हिरापुर–मदनपुर–सलेमपुर सडक भएर यात्रा गर्न बाध्य भएका छन्।
यस्तै मनुष्मारा खोलाले दुई किलोमिटर सडक कटान गर्दा सर्लाहीको धनकौलबाट रौतहटको धरमपुर जोड्ने सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।