भवानीदत्त भट्ट
कञ्चनपुर, असोज १९ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१ भूमिराज टोलका मीनादेवी भट्ट धान काट्ने तयारीमा हुनुहुन्थ्यो । शुक्रवार राति आएको जङ्गली हात्तीको बथानले १० कठ्ठामा लगाएको धानखेती नष्ट गरिदियो ।
६ महिनाको मिहिनेत गरेर लगाएको धानखेती हात्तीको बथानले नष्ट गरिदिएपछि मिनादेवीको परिवार चिन्तामा छ । “हात्तीको बथानले धानखेती नष्ट गरिदिएको छ, उहाँले भन्नुभयो, “अब के खाने, बालबच्चालाई के खुवाउने ?”
हात्तीको बथानले गाईगोठ भत्काउँदै खेतमा लगाएको धान खेती कुल्चेर नष्ट गरिदिएको सोही ठाउँका अर्का स्थानीय जयलाल भट्टले दुःखेसो पोख्नुभयो । एक बिघामा लगाएको धानखेती एकै रातमा हात्तीको बथानले सखाप पारेको उहाँले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधिले हात्ती भगाउन टर्च, सोलार बत्ती लगाइदिने आश्वासन दिँदै आए पनि कुनै व्यवस्था नमिलाउँदा सास्ती खेप्नुपरेको स्थानीय धर्मराज पन्तले बताउनुभयो ।
शुक्रवार राति भूमिराज टोलका पाँच परिवारको काट्नै लागेको धान खेती जङ्गली हात्तीको बथानले खाएर, कुल्चेर नष्ट गरिएको स्थानीयहरूले बताएका छन् । १०–१२ को सङ्ख्यामा आएको हात्तीको बथानले धान बाली नष्ट गरिदिएपछि किसानहरूले उचित क्षतिपूर्तिको माग गरेका छन् ।
जङ्गली हात्तीको बथानले कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा यस वर्ष सयौँ परिवारले लगाएको धानखेती नष्ट गरिदिएको छ । वर्षेनी जङ्गली हात्तीले वस्ती प्रवेश गरेर बालीनाली नष्ट गर्दा समेत सम्बन्धित निकायले चासो नदिँदा यहाँका किसानहरूले क्षति बेहोर्दैआएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले भने जङ्गली हात्ती बस्ती पस्न नदिन सरकारले नै ठोस योजना बनाउनुपर्ने बताएको छ । निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले जङ्गली हात्ती बस्ती प्रवेश गरे होहल्ला नगर्न आग्रह गर्नुभयो । होहल्ला गरे हात्तीले क्षति झन् नोक्सान र मानवीय क्षति समेत बढाउने उहाँले बताउनुभयो । हात्तीबाट पुगेको क्षतिको विवरण पठाउन कार्यालयले आग्रह गरेको छ ।