हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज १९ गते । लिजी–नेचुङ नाका (कोरला) बाट भित्रिएका ठूला सवारीसाधन मुस्ताङ भन्सार कार्यालयलमा रोकिएपछि मुस्ताङको लोघेकर दामोदरकुण्ड–२,घमी खोलामा सडक डाइभर्सनको काम सुरू भएको छ ।
कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन सहित साना ट्रक घमी खोलामा रहेको कच्ची पुलबाट ल्याइएपनि लरी र ठूला मालवाहक सवारी रोकिएको अवस्थामा आइतबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका, सडक विभाग र स्थानीय व्यापारीहरूको समन्वयमा डाइभर्सनको काम भइरहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।
अध्यक्ष विष्टले भन्नुभयो,‘‘अब बर्खासम्म बैकल्पिक मार्गबाटै सवारीसाधन आवतजावत गर्छन्, तत्काललाई भन्सारमा रोकिएका लरीसहितका मालबाहकलाई तल पठाउँछौ ।’’ अध्यक्ष विष्टका अनुसार मोटरसाइकल, यात्रुवाहक तथा अन्य साना सवारीसाधनहरू पूरानै पुलबाट सञ्चालन हुनेछ । गतहप्ता भन्सार कार्यालयबाट जाँचपास भएको चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडको मनाङ जिल्लाका लागि भित्रिएको १८ वटा मालबाहक लरी लोमान्थाङ गाउँपालिका–२,न्हेछुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको पार्किङस्थलमा रोकिएको छ ।
असोज १३ गतेदेखि यता भन्सार कार्यालयमा समेत नाकाबाट सामान भित्रिएको छैन । घमी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल सम्पन्न नहुँदा माथिल्लो क्षेत्रबाट आउने हेभी इक्युमेन्ट सहितका सामानहरूलाई कोरला–जोमसोम हुदै बेनीसम्म ल्याउन समस्या हुने गरेको छ ।
घमी खोलामा ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनले ४० मिटर लामो पुलको करिब २५ प्रतिशत काम बाँकी रहेको छ । पुल समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको र चालु आवभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।
कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न २ सय ५१ किलोमिटरको सडकमध्ये एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णतामा ढिलाइ हुँदा नेपाली व्यवसायीले समेत साना मालवाहक लिएर भन्सार कार्यालयबाट सामान ढुवानी गर्ने गरेका छन् । समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीमा पर्छ ।