• १९ असोज २०८२, आइतबार

दुई दशकपछि गुल्मी ट्राफिकको आफ्नै भवनबाट सेवा

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज १९ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले स्थापना भएको दुई दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । 

ट्राफिक प्रहरी कार्यालय २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरु भाडामा लिएर बस्दै आएकाे थियो । अहिले बालमन्दिर र बुढाथोकी बसपार्कको बिचमा आफ्नै भवन निर्माण भएपनि असोज १४ बाट कार्यालय सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

रेसुङ्गा नगरपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय बजेटमार्फत ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो । तीन तहबाट बजेट व्यावस्थापन गरेर भवन निर्माण गर्दा कामले सोँचे अनुसारको गति लिएको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख ट्राफिक प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरका अनुसार अहिले तल्लो भवनको एउटा कोठाबाट कार्यालय सञ्चालनको काम मात्रै भएको छ । भवनको रङ्गरोगन, कम्पाउण्ड र फिनिसिङ्गको काम अझै बाँकी छ । 

भवनमा आवाससहितकै सुविधा छ । तर काम समयमै हुन सकेको छैन । यसअघि ट्राफिक प्रहरी कार्यालय भगवती मन्दिर, जिल्ला प्रहरी कार्यालयहुँदै २०७७ सालबाट ०८२ सम्म बसपाक नजिक भाडामा बस्दै आएको थियो । ट्राफिक प्रहरी कार्यालयको दरबन्दी सात जनाको हो । अहिले जिल्लामा विभिन्न प्रहरी चौकीमार्फत १८ जना ट्राफिक प्रहरी कार्यरत छन् । १८ जनामध्ये सदरमुकाम तम्घासमा पाँच जना, रिडीमा तीन, श्रृङ्गा, वामी र जुहाङ्गमा दुई-दुई जना, पुर्तिघाट, शान्तिपुर, धनार्जी र पुर्कोटदहमा एक-एक जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रहरी नायब निरीक्षक कुँवरले बताउनुभयो ।

उहाँले आफ्नै स्थायी भवन निर्माणसँगै सेवा गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुई महिनामा दुई लाख ६२ हजार रुपियाँ ट्राफिक जरिवानाबाट राजस्व सङ्कलन गरेको छ । साउन र भदौ महिनामा ट्रक १०८ वटा, बस सात वटा, कार र जीप १६४ वटा, ट्याक्टर ३१ वटा, मोटरसाइकल २२२ वटा र अन्य पाँच वटा गरी जम्मा ५३७ सवारीसाधन कारबाहीमा परेका छन् । 

यसबाट राजस्वतर्फ ट्रकबाट एक लाख १० हजार ५०० रुपियाँ, बसबाट सात हजार, कार र जीपबाट एक लाख ४४ हजार, ट्याक्टरबाट २८ हजार पाँच सय, मोटरसाइकलबाट दुई लाख २५ हजार र अन्यबाट पाँच हजार गरी जम्मा दुई लाख ६२ हजार ५०० रुपियाँ रावस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।