• १९ असोज २०८२, आइतबार

बाँकेका पाँच ठाउँमा निषेधाज्ञा

blog

जिल्ला प्रशासन कार्यालय बाँकेको प्रशासनिक भवन । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, असोज १९ गते । दुर्गा मूर्ति विसर्जनको क्रममा शुक्रबार नेपालगन्जको केही ठाउँमा विवाद हुँदा भएको झडपले गर्दा अवस्था अझै पनि सामान्य भएको छैन । जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच ठाउँमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सूचना जारी गरेर सदभाव भड्काउने, अशान्ति फैलाउने र द्वन्द्व बढाउने भ्रामक सूचना र पोष्ट सामाजिक सञ्जालमा नगर्न चेतावनी दिएको छ । 

बाँकेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सूचना प्रकाशित गरेर जिल्लाको डुडवा –६ नेपालगन्ज १४, १५ र २३ तथा नरैनापुर –५ मा अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको जानकारी गराउनुभएको छ । 

निषेधाज्ञा जारी गरिएको सूचनामा अझै पनि ग्रामीण क्षेत्रमा दुई समुदायबिच शनिवार झडप र आगजनीका घट्ना भएको तथा अपराधिक मनसायले भेला हुने, धार्मिक सामाजिक सदभावमा खलल पारी हुलदङ्गा तथा अशान्ति फैलिन सक्ने अवस्था देखिएको हुँदा शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरिएको जनाइएको छ । 

शनिवार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको निषेधाज्ञा डुडवा –६  र नेपालगन्ज –१४ को सम्पूर्ण क्षेत्रमा, नेपालगन्ज १५ को सुईया पिप्रहवामा, वडा २३ को भजि पुरवा, जङ्गली पुरवा र लोहार पुरवामा तथा नरैनापुर –५ को सम्पूर्ण क्षेत्रमा लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 

उहाँले निषेधित क्षेत्रमा बिनास्वीकृति पाँच जनाभन्दा बढी मानिस भेला भएमा वा निषेधित कार्य गरेमा कानुनअनुसार कारवाही गरिने बताउनुभयो । सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेले पनि एक सूचना जारी गरेर वर्तमान सङ्क्रमणकालीन अवस्थाको फाइदा उठाउँदै केही व्यक्ति र समूहले सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट विभिन्न धर्म सम्प्रदायबिच सदभाव भड्काउने स्टाटस नराख्न, भ्रामक सूचनाहरुको समाचार प्रकाशन प्रसारण गर्न, समाजमा अशान्ति फैलाउने काम नगर्न आग्रह गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले अशान्ति फैलिने भ्रामक सूचना र पोष्ट तथा समाचार सामाजिक सञ्जालमा राख्नेलाई कानुनसम्मत कारवाही गरिने चेतावनी दिँदै सद्भाव बिग्रिन नदिन सबैले प्रयास गर्न आग्रह गर्नुभयो । 

यसअघि शुक्रवार दुर्गा मूर्ति विसर्जनको जुलुस निकाल्ने क्रममा नेपालगन्ज १५ पिप्रहवामा मस्जिद अगाडि विवाद हुँदा ३० जना घाइते भएका थिए । नेपालगन्जको फुलटेक्रामा पनि ढुङ्गामुढा गरिएको थियो ।