धनुषा, असोज १९ गते । धनुषासहित मधेशका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अविरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ ।
दसैँको समयमा निरन्तर मुसलधारे वर्षा भई बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो । भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् । मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानुपरे पनि लगातार झरी परिरहँदा घरमै थुनिएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम निरन्तरको वर्षाले जलमग्न बनेको छ । अविरल वर्षा जारी रहँदा जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश बस्ती, बजार र सरकारी कार्यालय परिसर पानीले डुबानमा परेका छन् । नगर प्रमुख मनोज साहका अनुसार बर्सेनि दोहोरिने समस्या यस वर्ष झन् गम्भीर बनेको छ । “पानीको उचित निकास नहुँदा सहरका मुख्य सडकदेखि आवासीय क्षेत्रसम्म डुबान भएको छ, जनताले घरभित्रै पानी जमेको गुनासो गरेका छन्”, उहाँले भन्नुभयो ।
उहाँले पानी निकासको लागि नगर प्रहरीसहित पालिकाबाट हुने हरेक प्रयास जारी रहेको बताउनुभयो । प्रमुख साहका अनुसार विशेष गरी जनकपुरधामको रामानन्दचोक, जानकी मन्दिर वरपर, राजदेवी मन्दिर रोड, सब्जी बजार, अस्पताल क्षेत्रलगायत स्थानमा पानीको स्तर बढ्दै गएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालय, राष्ट्रिय समाचार समिति(रासस)को कर्यालय लगायतका सरकारी भवन परिसरमा पानी जमेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका विभिन्न नदीमा जलस्तर बढ्दै गएको जनाउँदै प्रहरी र सशस्त्र बललाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री सिंहले मधेश प्रदेश प्रहरी प्रमुखसँग सम्पर्क गरी जोखिम क्षेत्रका बासिन्दालाई तुरुन्तै सुरक्षित स्थानमा सार्न आदेश दिनुभएको हो ।
“बाढी र डुबानले जनजीवन जोखिममा परेको छ, प्रशासन, सुरक्षा निकाय र स्थानीय तह सबैले समन्वय गरेर तत्काल उद्धार र राहतका उपाय अपनाउनुपर्छ”। मुख्यमन्त्री सिंहले भन्नुभयो । प्रदेश सरकारका अनुसार बागमती नदीमा अहिले करिब पाँच हजार ५०० क्युसेक पानीको बहाव भइरहेको छ । यो खतराको तहभन्दा ५०० क्युसेक बढी हो । बागमती बैराजका सबै ढोका खोलिएका छन् ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले बागमती नदीमा थप पानी आउन सक्छ, त्यसैले रौतहट र सर्लाहीका तटीय क्षेत्र उच्च सतर्क रहनु अत्यावश्यक छ ।”
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार हालसम्म प्रदेशका कुनै पनि जिल्लामा ठूलो मानवीय क्षति भएको छैन । “प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली सतर्क छन्, जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराइरहेका छौँ”, उहाँले भन्नुभयो । प्रहरीका अनुसार बाढी नियन्त्रणका लागि तटबन्ध मर्मत र तत्काल उद्धार कार्यका लागि तयारी भइरहेको छ । स्थानीय प्रशासनले किसानलाई मौसमअनुसार सतर्क रहन अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले पनि नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कमला र रातुखोलाको सतह बढ्दै गएकाले कुनै पनि बेला पानीले तटीय क्षेत्र प्रभावित पार्न सक्ने जनाइएको छ । उपमहानगरपालिकाले पनि नागरिकलाई अनावश्यक आवागमन नगर्न, विद्युतीय उपकरण सुरक्षित स्थानमा राख्न र विद्यालयका गतिविधि अस्थायी रूपमा स्थगित गर्न अनुरोध गरेको छ ।
त्यसैगरी जनकपुरधामबाट छुट्ने सङ्घीय राजधानी काठमाडौँ जाने सवारीसाधन ठप्प भएपछि शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् । दसैँ मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरे पनि भारी वर्षाका कारण गाडी जानै नसकेको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका बासिन्दा नवीनराज दाहालले बताउनुभयो । भारी वर्षाका कारण धनुषासहित तराई क्षेत्रबाट काठमाडौँ जाने गाडी ठप्प भएका छन् । लामो दूरीमा चल्ने अन्य गाडी पनि कम मात्रामा चलिरहेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष मोदकुमार महतोले प्रत्येक खोलामा ठूलो बाढी आएकाले खोला पर्ने क्षेत्रमा पैदल हिँडेरै जाने अवस्था नरहेको बताउनुभयो । भारी वर्षाले गर्दा यहाँ बिजुली अनियमित बनेको छ । अधिकांश स्थानमा मोबाइलको नेटवर्क अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् । लगातार पानी परिरहँदा पशुपालक किसानलाई पशुका लागि आहारा जुटाउन समस्या परेको छ । पानी पर्न नरोकिँदा शनिबारदेखि दिनभर जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदारसहित जिल्लाका हाटबजारका अधिकांश पसल तथा व्यवसाय खुल्न सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बाढी तथा डुबानको समस्या आउनासाथ तत्काल उद्धारको काम गर्न तयार अवस्थामा रहेको बताउनुभयो । आचार्यले करिब ३० घण्टादेखि अबिरल वर्षा भइरहँदा आज बिहान १० बजेसम्म जिल्लामा केही ग्रामीण भेगमा बाढी तथा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै किसिमको मानवीय क्षति नभएको बताउनुभयो ।
कमला, जलाद, औरही, दूधमती, हर्दिनाथलगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्न थालेको छ । खोला किनारका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस