• १९ असोज २०८२, आइतबार

रातु खोलाले बगाएको जिप सशस्त्र प्रहरीले सुरक्षित निकाले

blog

सशस्त्र प्रहरीले खोलाबाट निकालेको नेपाल टेलिकमको जिप ।

अजय साह 

गौशाला (महोत्तरी), असोज १९ गते । महोत्तरीको भंगाहा नगरपालिका –५ अन्तर्गत जमुनिया क्षेत्रमा अविरल वर्षापछि आएको आकस्मिक बाढीले बगाएको नेपाल टेलिकमको जिपलाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ। 

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार प्रदेश ३–०१–४५२७ नम्बरको उक्त जिप जेसीबीको सहयोगमा खोलाबाट निकालिएको हो।

शनिबार साँझ लगातारको वर्षासँगै रातु खोलामा आएको बाढीका कारण टेलिकम जनकपुर कार्यालयको जिप भंगाहा–बिर्ता सडक खण्ड पार गर्न खोज्दा बगेको थियो। जिपमा चालक मात्र सवार थिए, जो समयमै सुरक्षाको जानकारी दिइएपछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डिएसपी थापाका अनुसार, “जिप खोलाको छेउमा अड्किएको अवस्थामा भेटिएको थियो। बाढीको बहाव केही कम भएपछि जेसीबी प्रयोग गरी सुरक्षित रूपमा निकाल्न सफल भयौं।” 

जिप बगिरहेको देखेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए, जसपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो। उक्त उद्धार अभियानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरूको समेत सहभागिता थियो। रातु खोलाको जलसतह अझै घटेको छैन । मौसमविद्हरूका अनुसार महोत्तरी, धनुषा र सिराहा क्षेत्रमा अझै वर्षा जारी रहने सम्भावना छ । सशस्त्र प्रहरीले भने आगामी दिनमा पनि जोखिमपूर्ण ठाउँमा राहत र उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ ।