नेत्र शाही
खलङ्गा असोज १९ गते । जुम्लामा यस वर्षको दसैँमा दश करोडभन्दा बढीको खसी र भेडा खरिद बिक्री भएको छ ।
जुम्लामा स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका दश करोडभन्दा बढीको मूल्य बराबरका खसी, भेडा खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जानकारी दिएको छ ।
चन्दननाथ नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतका अनुसार तीमध्ये स्थानी भेडा नौ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार खरिद विक्री भएको हो । यो कारोबार चन्दननाथ नगरपालिकामा मात्रै हो । जिल्लाभर झण्डै २ करोड अन्य भेडाविक्री भएको अनुमान गर्न सकिन्छ ।
उहाँका अनुसार चन्दननाथ नगरपालिकामा राँगो-भैँसी २६ लाख ७७ हजार ५ सयको खरिदबिक्री कारोबार भएको छ । शाखा प्रमुख रावलले यसपटकको दसैंका लागि पाँच हजार आठसय ४३ भेडा बिक्री भएको बताउनुभयो । उहाँले र्दुइ सय ५६ खसी, राँगो र ६३ भैँसी पनि खरिद बिक्री भएको बताउनुभयो । उहाँले दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार, न्यूनतम मूल्य ९ हजार र औसत मूल्य १६ हजार तोकिएको बताउनुभयो ।
खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम मूल्य आठ हजार औसत मूल्य १५ हजार रहेको बताउनुभयो । यस्तै राँगो-भैँसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य ४२ हजार ५ सय रहेको थियो । जुम्लामा कालीकोबाट खसी, भेडा र राँगो-भैँसी ल्याइएको थियो । गतवर्षको दसैंमा १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको थियोे। गतवर्ष भन्दा यो वर्ष सस्तोमा खरिदबिक्री भएको हो ।